गैँडालाई गैँडा गोठालो

गैँडालाई गैँडा गोठालो



तिहारको मुखमा खाल्डो खनेर २ गैँडा मारेको घटनाले असन बजार रोयो । हिमाल पहाड रोयो । गैँडालाई माया गर्ने बिदेश रोयो । मैले अमेरिका धुरुधुरु रोएको देखेँ ।

नेपालको प्रतीक दुर्लभ अबोध गैँडालाई सुरक्षा गार्ड पोष्ट नजिक त्यति ठूला र गहिरा खाल्डो खनेर क्रुर ढङ्गले मार्दा सारा संरक्षणप्रेमी राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण समुदायको मन रुनु स्वभाविक थियो । पीडा आक्रोशमा परिणत हुँदा सेनाको मिलोमतो र तस्करलाई सेनाको साथ भन्नेसम्मका गाली र आरोप नेपाली सेनाप्रति तेर्सिए । सेनाको इमान्दार संरक्षण पहल र प्रयासप्रति पंक्तिकारलाई पटक्कै बिश्वास लागेन । गैँडालाई नजिकबाट चिनेको, उद्धार रक्षा कल्याण सम्मान गरेको मेरो आत्मा तिहारभरि धुरुधुरु रोयो । आफू गैँडा भएर खाल्डोमा परेको र एकमुठी खागको लागि शिकारीहरुले खुँडा, खुकुरी, भाला प्रहार गरेर निर्मम हत्या गरी नाक भाँची लगेको त्यो क्रुर घटनाले म लगायत धेरै संरक्षणकर्मीहरुको भोक निन्द्रा गायब गरेको थियो ।

आधुनिक संरक्षण इतिहासमा २ गैँडाको त्यो निर्मम चोरी शिकार कालो युग हो । प्राचीन संरक्षण मोडल असफल भएको प्रमाण हो । सुचना संयन्त्र, अनुगमन बिधि र समग्र सुरक्षा संयन्त्र निकम्मा र असफल भएको सफेद प्रमाण हो । त्यो काल रात्रीलाई बचाउ गर्ने म पूर्व संरक्षणकर्मीसँग कुनै शब्द र सुत्र छैन । हिजो शून्य शिकार गरेर विश्वलाई चकित पार्ने नेपाली सेना आज संरक्षणमा यति चुक्ला र चिर निन्द्रामा जाला भन्ने मैले अनुमान गरेको थिइन । सेना चुक्यो ।

पीडामा नुनचुक
नेपाली सेनाको चेनअफ कमाण्डलाई दशैँ अगाडीदेखि सतर्क र सचेत गराउँदै आएको थिए ।

‘राष्ट्रिय अनुशासन, हौसला र मनोवल गिरेको छ । मरेको छ । राष्ट्रिय वितृष्णा बढेर आकास छोएको छ । राष्ट्रिय चोरी डकैति भ्रष्टचारले सीमा नाघेको छ । राष्ट्रिय आक्रोश बढेर बिष्फोटन हुने बिन्दुमा पुगिसकेको छ । तसर्थ, यो आक्रोशको निशाना दुर्लभ गैँडा र पाटेबाघ हुने छन् । चोरी शिकार बढ्नेछ । नेपाली सेनाले संरक्षण घेरा कसिलो बनाउनुपर्दछ । निकुञ्जको रिक्त दरबन्दी पूरा गरिदिनुपर्दछ । चाडबाड मनाउनु र बिश्राम लिनु हुँदैन । उच्च सतर्कता अपनाउनुपर्दछ । नत्र सेनाको नाक कान काटिने छ ।’

नभन्दै खाल्डामा परेर सेनाको नाक काटियो । त्यो अवोध गैँडाको खाग काटिएको होइन, सेनाको नाक काटिएको हो ।

यो वर्षको तिहारमा किवानिज चिल्ड्रेन फण्डको बोर्ड मिटिङ्गलाई अमेरिका जानुप-यो । जुम मिटिङ्ग गर्ने मेरो जोडबल कामयावी भएन । इनपर्सन मिटिङ्गको बाध्यकारी जिम्मेवारी आइलागेपछि म भाइटिकाको २ दिन अगाडि अमेरिका दगुरेँ । अमेरिका जानु एक दिन अगाडि प्रधानसेनापतिको कार्यालय पुगेर उहाँलाई बिन्तिभाउ बिसाएँ ।


‘सर,
कृपया बिना बिलम्ब चितवन राष्ट्रिय निकुञ्जको भ्रमण होस् । आफू गणपति भएको निकुञ्जलाई मात्र भन्ने आरोप छल्नलाई बर्दिया निकुञ्ज र हिमालमा लाङ्गटाङ्ग निकुञ्ज पनि भ्रमण होस् । यो भ्रमणले बहुआयामिक उद्देश्य र अर्थ राख्दछ । संरक्षण फौज स्वतः तन्किने छ । संरक्षण घेरा मजबुत हुनेछ ।’

यो सुझाव सेलाउन नपाउँदै प्रधानसेनापतिले डिउटी गरेको उहाँकै निकुञ्जमा २ माउ बच्चा पोथी गैँडाको निर्मम हत्या भयो । एक दर्जन गैँडाको नोक्शानी भयो । सेनाको संरक्षण इतिहासमा कालो धब्बा लाग्यो ।

पंक्तिकारले सतर्क र साबधान गराउँदा गराउँदै भएको यो दुर्घटनाले पीडामाथि नुनचुक लगाएको जस्तो असह्य दर्द भयो । यो आलेख त्यही क्षति, पीडा र भावी संरक्षण मोडलका बारेमा केन्द्रिकृत हुनेछ ।

सेनाको आँखा खुलोस
चोरी शिकार सर्वत्र छ । ब्यापक छ । २ खाल्डोमा २ गैँडाको निर्मम हत्या देखिएको भेटिएको ताजा प्रमाण मात्र हो । देख्न भेट्न बाँकी बन्यजन्तुका धरापहरु यत्रतत्र सर्बत्र छन् । हरेक निकुञ्जमा २ हजारका दरले धरापहरु थापिएका छन् ।

प्राचीन संरक्षण मोडलले आधुनिक चुनौतिका समाधान र बन्यजन्तुको संरक्षण सम्भव छैन । त्यसैले राज्य सुतेको बेला सेना जागा जाग्रम बस्नुपर्दछ । उठ्नुपर्दछ । चोरी शिकारी र तस्करहरु सक्रिय हुँदा सेना महासक्रिय हुनुपर्दछ । नेपाली सेनाले ती तमाम् धरापहरुलाई २४ घण्टाभित्र निस्क्रिृय पारेर देखाउनुपर्दछ । त्यो क्षमता सेनासँग छ ।

कालो बादलमा चाँदीको घेरा
२ गैँडाको अकल्पनीय चोरी शिकारले प्रधानसेनापतिको मन छोएको रोएको देखियो । किनभने उहाँले घटनाको लगत्तै गैँडा संरक्षण गर्न गैँडा गोठालोलाई खटाइदिनुभयो । २ गैँडाको अतृप्त आत्माले गैँडाको रक्षाकल्याण सम्मान गर्न गैँडा गोठालो निर्देशक पाएका छन् । यो आधुनिक संरक्षण ईतिहासमा नेपाली सेनाले ठीक मान्छेलाई ठीक ठाउँमा सरुवा गरेको नमूना नजीर हो । गैँडाले अव झारा टार्ने जागिरे होइन वारकलेज गरेर फर्किएको बृत्ति बिकासको उज्वल भविष्य भएको होनहार निर्देशक पाएका छन् । गैँडागोठालो जसले संक्रमणकालको दिनहुँ हुने चोरी शिकार बन्द गराएका थिए र लगातार धेरै वर्ष शून्य सिकार उपलब्धि हासिल गरेर मुलुकको संरक्षण छवि आकाशमा पु-याइदिएका थिए । गैँडा गोठालोले गैँडाको भाषा र मनोविज्ञान पढ्ने बुझ्ने र गैँडाको माग पूरा गर्ने क्षमता राख्ने भएकोले यसलाई ठीक मान्छेको ठीक सरुवा भनेको हो । आशा गरौँ गैँडा गोठालोले आफ्नो टाइटलको रक्षा गर्नेछन् । बिगतको उपलब्धि रक्षा गरेर देखाउने छन् ।


सलाम छ नेपाली सेनालाई समयमा आँखा कान खोलेर यो जिम्मेवारीलाई उच्च प्राथमिकता दिएकोमा । अथवा, यो ऐतिहासिक बिरासतलाई मान्न धान्न र सफलतापूर्वक पूरा गर्न अग्रसर भएकोमा । गैँडागोठालोको आगमनले नेपाली सेनाले प्रकृति संरक्षणको जिम्मेवारीलाई संस्थागत गर्दैछ र चोरीशिकारमा शून्य सहनशीलता अपनाउँदैछ भन्ने कडा सन्देश दिएको छ । नेपाली सेनाको संरक्षण प्राथमिकतालाई सार्थक बनाएर देखाउने अभिभारा गैँडागोठालोको काँधमा आएको छ ।

नवनियुक्त निर्देशकलाई शुभकामना
गैँडागोठालोले यो पबित्र जिम्मेवारीलाई गर्व र हार्दिकताका साथ ग्रहण गरेर परिणाम दिन दत्तचित्त रहून । संरक्षणले एक मिनेट पर्खदैँन भन्ने आदर्शलाई आत्मसात गरेर समयको भरपूर सदुपयोग गरुन । भारतवाट आर्जन गरेको स्ट्रयाटेजिक ज्ञानलाई बाकसमा बन्द गरेर र आफ्नो लामो डिएसएलआर क्यामेरालाई साँचो मारेर उनी गैँडाको बासस्थानमा उडेर पुगून् र हरेक गैँडासँग भलाकुसारी गर्न सुरु गरुन् । गैँडाको नशा छामून र रोग भोक तिर्खा निन्द्रा पत्ता लगाउन् । यो काम उनले शुक्लाफाँटाबाट सुरु गरुन र पर्सामा टुङ्ग्याउन् । गैँडा गोठालोको उठबस र बास राजधानीको आलिशन महलमा होइन, गैँडाको पुच्छर समातेर गैँडा मचानहरुमा होस । उनले साप्ताहिक र मासिक गैँडा गस्ती प्रारम्भ गरेर देखाउन । मरिसकेको पुरानो गस्ती परम्परा जगाउन् । सिबिएपियु अपरेशन, डग अपरेशन, रियलटाइम स्मार्ट पट्रोल, सुचना प्रबिधिमा आधारित ईन्टलेड्, अपरेशनलाई पुनस् प्राण भरेर सफलताको शिखरमा पु-याउन् ।

शून्य शिकारको औचित्य सकिएको छैन । नारामा होइन ब्यवहारमा शून्य शिकारको अनुपम आनन्द बन्यजन्तुहरुले उपभोग गर्न पाउन । बन्दुकको बलले होइन सैनिक कुटनीति र अनुशासित मर्यादित सैनिक आचरणले हासिल गरेको शून्य शिकार दिगो हुनेछ । लोकप्रिय हुने छ । प्रकृति संरक्षणमा खट्टिएको नेपाली सेना सँधै जनमैत्री, वातावरणमैत्री, महिलामैत्री, बालबालिकामैत्री र बृद्धबृद्धामैत्री रहिआएको छ र रहनैपर्दछ । नेपाली सेना पहिला स्थानीय समुदायको पहरेदार हो । उनीहरुको हकहितको रक्षक हो । दुस्ख र पीडाको उद्धारकर्मी हो ।

शून्यशिकार उपलब्धिपछि मानव बन्यजन्तु द्वन्द्व अन्त्य गर्ने अभिभारा नेपाली सेनाले लिनुपर्दछ । जुन सम्भव छ ।

गैँडा गोठालोले संरक्षणप्रेमी स्थानीय समुदाय र प्रतिबद्ध युवा संजालसँग मित लगाउन । तिनका सुस्केरा समस्या बोध गरुन । र गैँडा संरक्षणमा ती युवाको नेतृत्व स्वीकारुन ।

स्थानीय आदिवासी समुदायको शिक्षा, स्वास्थ्य, रोजगार, जीविकोपार्जनको लागि गैँडागोठालोले नेपाली सेना र राष्ट्रिय मूलधारसँग जोडिदिउन । गैँडाल्याण्ड र टाईगरल्याण्डमा छिटो समृिद्ध र शान्ति पु-याउन उनी मरिमेटेर लागिपरुन् ।

सेनाबाहेक संरक्षण साझेदार संघ संस्थाहरु राजनीतिकरणको शिकार भएका छन् । कतिपय कोमामा गइसकेका छन् । सेना आफू राजनीतिक बन्ध्याकरण हुने होइन आफ्ना संरक्षण साझेदार सहकर्मीहरुलाई अराजनीतिक बाटोतर्फ डो-याएर संरक्षण क्षेत्रलाई अराजनीतिक पवित्र क्षेत्र राख्नलाई गैँडा गोठालोले आफ्नो शक्ति केन्द्रित गरुन् । भताभुङ्ग र लथालिङ्ग टिमलाइ पुनरसङ्गठित गरेर एकढिक्का बनाउन र सुन्दर टिमवर्कको अभ्यास तथा लयमा संरक्षण फर्काउन गैँडा गोठालोले कुनै कसर बाँकी नराखून ।

गैँडाको रक्षा हुनु पाटेबाघको रक्षा सुनिश्चित हुनु हो । तर हिमालमा हिमचितुवाको सुरक्षादेखि सीमा पारिका बन्यजन्तुहरुको सुरक्षामा समेत गैँडागोठालोको ज्यान र ध्यान पुगोस । गैँडाले अब आइन्दा खाल्डो, बिजुलीको तार, विषादी, बन्दुकको त्रास देख्नु खेप्नु नपरोस । र गैँडा बाँच्दा समग्र जैबिक बिबिधताको रक्षा कल्याण सम्मान होस् ।


यो आलेख प्रकाशित हुँदा नहुँदा गैँडा मार्ने चोरी शिकारी र तस्करहरु पक्राउ परिसकेका हुनेछन् । न्यायको कठघरामा उभिनेछन् । तर हेक्का होस संरक्षणको उद्देश्य गैडाको रक्षा गर्नु हो । चोर खाल्डो खन्दाखन्दै पक्राउ पर्नुपर्ने थियो । भावी संरक्षण मोडलले गोली फायर गरेर होइन, सूचना संजाल बिच्छयाएर र बुट्स् अन द ग्राउण्ड सर्बत्र पु-याएर अबैध घुसपैठलाई बन्द गरोस । शून्यमा झारोस् । अबको नारा शून्य शिकार होइन शून्य घुसपैठ होस् ।

निकुञ्जमा तैनाथ आठहजार सेनामात्र होइन सम्पूर्ण असिहजार सेना र उत्तिनै भुतपूर्वक सैनिकसमेत कट्टर संरक्षणकर्मी हुन् ।

अन्त्यमा, गैँडागोठालोको नेतृत्व गैँडालाई फलिफाप र रामराज्य होस् । स्थानीय समुदायलाई ठूलो साहारा होस् । संरक्षणमा कायापलट होस् । राष्ट्रिय संरक्षण छबि टल्कियोस् । चम्कियोस् । र, नेपालको संरक्षण मोडल हेर्न बिश्वभरिका संरक्षणकर्मीहरु लामबद्ध भइ आउन् । गैँडा गोठालाका शान्त, स्वस्थ, खुसी र सुखी गैँडा हेर्न बिश्व उल्टिएर नेपाल आउन् । गैँडागोठालोले आफू जलेर गैँडाको नाक उज्वल पारुन् । चम्काइदिउन् । टल्काइदिउन् ।

गैँडागोठालो र उनका अबोध गैँडाहरुलाई एकमुष्ट शुभकामना ।