राष्ट्रियसभामा एमाले नील, गठबन्धन दलबीच यसरी हुँदैछ सिट बाँडफाँड

राष्ट्रियसभामा एमाले नील, गठबन्धन दलबीच यसरी हुँदैछ सिट बाँडफाँड



काठमाडौं । राष्ट्रिय सभामा १९ सदस्यका लागि माघ ११ गते हुने निर्वाचनमा एमालेले एउटा पनि सिट नजित्ने लगभग निश्चित छ । गठबन्धन दलले उम्मेदवार छनोट कमिटी बनाएर सिट बाँडफाँडको गृहकार्य सुरु गरिसकेको छ । एमालेलाई राप्रपाले साथ दिए पनि गठबन्धनका अगाडि उसको केही लाग्ने छैन ।

सत्तारूढ दलभित्र सिटको बाँडफाँडको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सचेतक सुशीला थिङ, माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र जसपाका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पाएका छन् । सहमतिको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी अनौपचारिक रूपमै उनीहरुले प्राप्त गरेका हुन् । सहमतिअनुसार मतभारको अध्ययन गरेर सिटको भागबन्डा हुने छ ।

चार दलले मात्रै बाँडफाँड गरेर लिनेकि सत्ता सहयात्री अन्य दललाई पनि बाँडफाँडमा सहभागी गराउने विषयमा जिम्मेवारी पाएका नेताहरुमा विवाद उत्पन्न भएको छ । कांग्रेस, माओवादी, संघीय समाजवादी र जनता समाजवादीले मात्र बाँडफाँड गर्ने तयारी गरेको बुझिएको छ । तर, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले पनि १–१ सिट पाउन सक्ने सम्भावना बलियो छ ।

मतभारको विश्लेषणअनुसार प्रारम्भमा कांग्रेसले ९ सिट, माओवादीले ५ र संघीय समाजवादी, जसपा, नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टीले १–१ सिट पाउने सम्भावना बलियो छ । नागरिक उन्मुक्ति, लोसपा र जनमतले सिट नपाए माओवादीले ६ र संघीय समाजवादीले ३ सिट पाउने छन् । कांग्रेसकै कोटाबाट राष्ट्रपतिले मनोनित गर्दा उसको १० सिट पुग्नेछ ।

यो २० सिटमध्ये अपांगता भएका वा अल्पसंख्यबाट ३, दलितबाट २, महिला ७ र अन्यबाट ७ जना निर्वाचित हुनेछन् । राष्ट्रपतिबाट १ जना मनोनित छन् । कोशी, मधेश र लुम्बिनीबाट २–२ जना निर्वाचित हुनेछन् । गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ जना निर्वाचित हुने छन् । ५ सय ५० प्रदेशसभा सदस्य र ७ सय ५३ पालिकाका प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख–उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।

यस्तो छ मतभार
कोशीमा ९३ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ७४ गरी कुल मतदाता संख्या ३ सय ६७ छ । जसको कुल मतभार ९ हजार ६ सय २२ हुन्छ । त्यसमध्ये एमालेसँग चार हजार २ सय १० मतभार छ । गठबन्धन दलहरु कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपासँग ५ हजार ४ सय ७४ मतभार छ । मत तलमाथि भएन भने गठबन्धनले सबै सिट जित्नेछ ।

त्यसैगरी मधेश प्रदेशमा ३ सय ७९ जनाले मतदान गर्नेछन् । हालकै अवस्थामा एमालेसँग २ हजार ३ सय २ र सत्ता गठबन्धनसँग ७ हजार ९ सय ४६ मतभार छ । यो प्रदेशमा एमालेको जित्ने कुनै सम्भावना देखिँदैन । बागमती प्रदेशमा ३ सय ४८ मतदातामध्ये एमालेका ६० र गठबन्धनको १७४ मत हुँदा कांग्रेसको मात्र १ सय ८ मत छ । कांग्रेससहितको गठबन्धनसँग ६७५१ र एमालेसँग २५७२ मतभार छ ।

गण्डकीमा एमालेको तुलनामा सत्ता गठबन्धनसँग ४ हजार १ सय ८० मतभार बढी छ । लुम्बिनीमा पनि एमालेसँग भन्दा गठबन्धनसँग २ हजार ६ सय ६७ मतभार बढी छ । कर्णालीमा एमालेसँग १ हजार ५ सय ३७ र गठबन्धनसँग ३ हजार ७ सय ७ मतभार बढी छ । सुदूरपश्चिममा गठबन्धनसँग ४ हजार ५ सय १० र एमालेसँग १ हजार ४ सय ८० मतभार छ । गठबन्धनमा सिट बाँडफाँडमा सहमति भयो भने एमालेले राष्ट्रियसभाको आगामी चुनावमा एक सिट पनि जित्ने छैन ।