प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित



विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली (पहिलो संशोधन समेत), २०७४ को नियम १०८ बमोजिम मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव पेस गरेका थिए ।

सो विधेयक सम्बन्धित विषयगत समितिबाट दफावार छलफल भई सुशासन तथा योजना समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले सदनमा आइतबार पेस गरेका हुन् । प्रस्तावित विधेयकको कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारी, नारायण बुर्जा मगर, कमला दर्नाल, गोम्बु शेर्पा, रामदेव यादव, भक्तिप्रसाद सिटौला र प्रदीपकुमार सुनुवारले उपादेयता, सान्दर्भिकता, सकारात्मक तथा नकारात्मक पक्षमा बोलेका थिए ।

विधेयकको विषयमा उठेका जिज्ञासाका सम्बन्धमा मन्त्री राईले मुलुकमा प्रशासनिक सङ्घीयतालाई सुदृढ एवं बलियो बनाउन यो विधेयक आवश्यक भएकाे बताए । उनले विधेयकमा कुनै कमी तथा त्रुटी भएमा अविलम्ब सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।