२७.७५ अंकले बढ्यो नेप्से

२७.७५ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको छ ।

यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ । गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो ।

सेन्सेटिभ इन्डेक्स पनि ४.४० अंकले बढेर ३८१.०७ विन्दुमा पुगेको छ । १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ ।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ ।

समग्रमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।