काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् ।
ललितपुर महानगरको स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने पनि उनले बताएका थिए ।
‘केही कुरामा भने काठमाडौं र ललितपुर फरक दखिन्छ । उदाहरणका लागि काठमाडौंमा खोला अधिक्रमण छ, ललितपुरमा खोला अतिक्रमण छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ । एकदिन दुवै अतिक्रमण हट्छ भन्ने आशा गर्छौं,’ मेयर शाहले भने, ‘कुनै-कुनै अतिक्रमण स्थानीय सरकार आफैंले रोक्न सक्छौं तर खोला अतिक्रमण सक्दैनौं। त्यसैले प्रधानमन्त्रीलाई फेरि आग्रह गरेँ, यदि सम्माननीयज्यूले चाहनुभयो भने यहाँबाट अर्को कार्यक्रममा जान जति समय लाग्छ त्यति समयमा समाधान हुने विषय हो । तर उहाँले चाहनुभयो भने मात्र। त्यो पाँच मिनेटदेखि एक घण्टासम्ममा सल्टिने समस्याहरू पनि छन् । जुन मेयरहरूले मात्र र लइन्फोर्समेन्टले मात्र पनि सक्दैन। त्यस्ता कुरामा संघ सरकारले सहयोग गर्न पर्ने हुन्छ।’
प्रधानमन्त्री दाहालले आफूले मेयर शाहलाई सहयोग गर्ने बताइरहेको पनि बताए । ‘प्रधानमन्त्रीले समस्या समाधान गर्न बल गरिराखेको छ भन्न तपाईंलाई केले रोक्यो ?,’ उनले प्रश्न गरे ।
“तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ ? तपाईं काठमाडौं पालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुरलाई समन्वय गर्ने तपाईंको बढी जिम्मेवारी छ । मैले तपाईंलाई सहयोग गर्छु भनेर लगातार गरेको कुरालाई रिकोग्नाइज गर्न केले रोक्यो ?,” प्रधानमन्त्रीले प्रश्न गरे ।
प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’
प्रचण्डले थपे, ‘म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई होस्, या तीनकुनेको कुरालाई होस् । चाहे उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’


प्रतिक्रिया