दक्षिण कोरियामा विदेशी बासिन्दाको संख्या १० प्रतिशतले वृद्धि

दक्षिण कोरियामा विदेशी बासिन्दाको संख्या १० प्रतिशतले वृद्धि



सोल । सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको संख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ ।

कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको संख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो ।

दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको संख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको संख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई लाख एक हजार पुगेको छ ।

पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अङ्गीकृत नागरिकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा दुई दशमलव पाँच प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ ।

रोजगारी भएका विदेशी बासिन्दाको संख्या नौ दशमलव पाँच प्रतिशतले बढेर सन् २०२३ मा नौ लाख २३ हजार पुगेको छ । चालु वर्षमा अङ्गीकृत व्यक्तिको रोजगारीको संख्या शून्य दशमलव छ प्रतिशतले बढेर ३४ हजार पुगेको छ ।