अरनिको पुरस्कार विजय हितानलाई

अरनिको पुरस्कार विजय हितानलाई


ग्लोब नेपाल
54
Shares

२०७९ सालको अरनिको अन्तरराष्ट्रीय पुरस्कार साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई प्रदान गरिने भएको छ ।

गैर आवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको शनिवार सम्पन्न बैठकले यो निर्णय गरेको जानकारी पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले दिनु भएको छ । ‘लाहुरेको रेलिमाई ‘ का लेखक हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्र सहित यो पुरस्कार प्रदान गर्नेछ । हितान बेलायतमा बसोबास गर्नुहुन्छ ।

पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष थापाका अनुसार, ‌गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि सो समितिले प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लाग्नु भएका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान “लाहुरेको रेलिमाई” ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ मा चेतनाथ आचार्यको उपन्यास “रुइबा”लाई पुरस्कृत गरिएको थियो ।