इस्कोनद्वारा काठमाडौंको विभिन्न स्थानमा हरिनाम संकिर्तन सम्पन्न

इस्कोनद्वारा काठमाडौंको विभिन्न स्थानमा हरिनाम संकिर्तन सम्पन्न



काठमाडौँ । मोक्षदा एकादशी अर्थात गीता जयन्तीको (भगवान श्रीकृष्णद्घारा उहाँको परमभक्त अर्जुनलाई श्रीमद्भगवद्गीताको दिव्य ज्ञान प्रदान गर्नुभएको दिन) शुभ अवसरमा २०८० पौष ७ गते शनिबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) द्वारा टुडिखेल हुँदै न्यूरोड, बसन्तपुर, इन्द्रचोक, ठमेल हुँदै लैनचौर क्षेत्रमा दिउँसो ३ देखि ६ बजे सम्म हरिनाम संकिर्तनको आयोजना गरिएको थियाे ।

भगवद गीता एक पवित्र हिन्दू धर्मग्रन्थ हो जसमा कुरुक्षेत्रको युद्धभुमिमा भगवान कृष्ण र अर्जुन बीचको संवाद समावेश छ । यसले वैदिक सनातन दर्शनको आध्यात्मिक ज्ञानको सार र शताब्दीयौंदेखि दार्शनिकहरुले सोधेका प्रश्नहरुको जवाफ प्रकट गर्दछ । भगवदगीताले कर्म, निःस्वार्थ कार्य, कृष्णभक्ति र योगका सिद्धान्तहरु सिकाउँछ, र धर्मको बारेमा विभिन्न हिन्दू विचारहरुको संश्लेषण प्रस्तुत गर्दछ । यसले चेतना, आत्मा र ब्रह्माण्डको प्रकृतिलाई पनि व्याख्या गर्दछ । भगवद गीताले महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन, हेनरी डेभिड थोरो, राल्फ वाल्डो इमर्सन, र फिलिप ग्लास जस्ता प्रसिद्घ व्यक्तित्वहरु सहित जीवनका विभिन्न क्षेत्रका धेरै मानिसहरुलाई प्रभावित गरेको छ ।

यस हरिनाम संकिर्तनमा भगवानको दिव्य नामको गायन किर्तन, नृत्य, प्रसादम वितरण, भगवद्गीता ग्रन्थ वितरण आदि कृयाकलापबाट आनन्दमय वातावरण भएको थियो, र संकिर्तनको माध्यमबाट हरेक व्यक्तिले हाम्रो वैदिक सनातन धर्म, संस्कृतिको महत्व र भगवानसँगको निकटता महसुस गरेका थिए साथै एक गाडिमा श्रीमद्भगवद्गीताको फ्लेक्स पनि प्रदर्शन गरिएको थियो । यस दिव्य महोत्सवमा बिभिन्न संघसंस्थाका बिशिष्ट व्यक्तिहरुको उल्लासमय उपस्थिति तथा उनीहरुले आफ्नो बिचार तथा बिमर्श व्यक्त गरेका थिए । यसरी लैनचौरमा उपस्थित व्यक्तिहरुले प्रसादम लिएर कार्यक्रम समापन भएको थियो ।