चेल्सीको खराब प्रदर्शन जारी, उल्भ्ससँग स्तब्ध

चेल्सीको खराब प्रदर्शन जारी, उल्भ्ससँग स्तब्ध


ग्लोब नेपाल
54
Shares

लन्डन। इंग्लिस प्रिमियर लिगमा उल्भ्सले चेल्सीमाथि २ – १ गोलको जित हात पारेको छ । खराब प्रदर्शनलाई जारी राखेको चेल्सीको लिगमा सिजनको यो आठौँ हार हो ।

उल्भ्सको मैदानमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पाएका केही मौकाको पनि चेल्सीले सदुपयोग गर्न सकेन । रहिम स्टर्लिङको प्रहार उल्भस गोलकिपरले सफल हुन दिएनन् । कोल पाल्मरको प्रहार पनि आकासियो । उल्भ्सका टोटी गोमेजको फ्रि हेडरले चेल्सी गोलकिपरलाई पार गर्न सकेन ।

दोस्रो हाफमा घरेलु टोलीले डेडलक तोड्यो । ५१ औं मिनेटमा मारियो लमेनाले हेडर गोल गर्दै चेल्सीविरुद्ध आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । उनले पाब्लो साराबियाले प्रहार गरेको कर्नरमा गोल गरेका थिए । उल्भ्सका लागि लमेनाको सिजनको यो तेस्रो गोल हो । सब्सिच्युट क्रिस्टोफर एनकुकुको प्रहार गोल लाइनबाट बचाउ भएपछि चेल्सीले दूरी कम गर्ने अवसर गुमाएको थियो । इन्जुरी समयमा उनैले हेडर गोल गरेपनि चेल्सीका लागि हार टार्न पर्याप्त भएन् । एनकुकुको प्रिमियर लिगमा यो डेब्यु खेल हो ।

सन् २०२० डिसेम्बर यता चेल्सीले प्रिमियर लिग अवे खेलमा लगातार चौथो हार बेहोरेको हो । अंक तालिकाको दशौं स्थानमा रहेको चेल्सीको १८ खेलबाट २२ अंक छ । जुन युरोपा कन्फरेन्स लिग छनोट हुन चाहिने भन्दा ६ अंकले पछि हो । शीर्षस्थानमा रहेको आर्सनलको ४० अंक छ । उल्भस २२ अंकका साथ ११ औँ स्थानमा छ ।