घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ

घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ



काठमाडौँ । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

गत कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

पराजुलीलाई आजै कास्की पठाउने बताइएको छ । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।