बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु



काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।

पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।

इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।