प्रतिवादीलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर

प्रतिवादीलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर

३ जना रिहा


ग्लोब नेपाल
675
Shares

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।

तर अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् । अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ । तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन । गोलाप्रथाबाट इजलास तोकिन्छ ।

केसीलाई १० लाख धरौटीमा छाड्न आदेश
उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।

सहप्रतिवादी र प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो । ‘प्रमाणबाट ठगीको रकम प्राप्त हुन नसकेको अवस्था देखिएकाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश बेरितको देखिएको’ आदेशमा उल्लेख छ । केसी २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका थिए ।

सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो । उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ । ४ जेठमा प्रहरीले रिजाललाई पक्राउ गरेको थियो ।

आदेशकाे पूर्णपाठ :