दस कित्ता शेयर

दस कित्ता शेयर



भिरको डिलमा उभिएकी मिनाले हामफाल्नु अघि आँखाभरी आँसु पारेर एक पटक काठमाडांैलाई नियाली ।

पारि डाँडामा गुम्बाका साँझका बत्तिहरु सधैं झैँ झिलिमिली बलिरहेका देखिए । अँध्यारोले निल्नबाट जोगिएका सहरी घरहरु उस्तै थिए । उस्तै थिए मोटरका आवतजावतहरु । उस्तै देखियो दूरदूरसम्म झिलिमिली ।

छ्या ! कस्तो कपटि काठमाडौ ! यहाँ एउटी युवती साँझको प्रहरमा मृत्युवरण गर्न भिरको डिलमा उभिएकी छे । सहरलाई केही फरकै परेको छैन । यो निर्लज्ज निस्फिक्री आफ्नै रफ्तारमा चल्दो छ । उसले मनमनै सोची ।

साँझको चिसो बतासले मिनाको मनलाई पटक्कै शितल पार्न सकिरहेको थिएन ।

उसले सोची, मर्नु अघि कमसेकम आफू कुन कारणले प्रताडित हुन पुगेको हो त्यो त निक्र्यौल गरुँ । मिना थचक्क बसी । कारणहरु एउटा भए पो ! उसलाई चक्कर आउला जस्तो भो । स्मृतिका पानाहरु शनैशनै पल्टन थाले ।

एक वर्षअघि जागिरबाट छुट्टी लिएर केही दिनलाई मिना आफ्नो गाउँ गएकी थिई ।

आमाले टाउको एक्कासी दुख्यो छोरी यसो मिचिदेन भन्नु भो । मिनाले आमालाई आफ्नो काखमा पल्टिन भनी । आमा छोरी सुखदुःखका भलाकुसारी गर्दै थिए ।

आमाले गुनासो गर्नु भो, “तेरो बाउले सारै दुःख दियो छोरी । सुध्रिने छाँठकाँट देखिन्न । तास खेल्न लखरलखर डुलिहिँड्छ दिनरात । माथी दोबाटोमा रक्सी पसल गर्ने तारा शेर्पेनी त चिन्छस् नि! हो त्यसलाई कान्छी बुढी भित्र्याउँछु भनी हिँड्छ रे गाउँगाउँ । यो उमेरमा मति किन यसरी बिग्रेको हो । यसले मलाई सौता भिराउला जस्तो छ ।”

आमाको कुराले मिनाको साह्रै चित्त दुखेर आयो । हुन त उसले पनि यो कुरा यदाकदा सुनिसकेकी थिई ।

“चिन्ता नगर्नुहोस् आमा म जसरी जे गरेर भएपनि बाउलाई ठिक पार्छु । चिन्ता नलिनु के !” उसले गला अवरुद्ध पार्दै भनी ।

आमाले थप्नु भो “दुई पटक त राती घर समेत आएन । त्यही तारा शेर्पेनीकोमा बसेको शंका छ मलाई । यसले अवगाल पार्ला जस्तो छ ।”

मिनाले ढाडस दिई “भनिसकेँ त आमा । पीर नगर्नु न । म कुरा गर्छु”, मिनाले आमाको कपाल मिचिरही । केही छिनमै आमा निदाउनु भो ।

निदाएको केही छिनमै आमा अस्वभाविक रुपले एक्कासी बेस्सरी चल्मलाउन थाल्नु भो । शरीर पुरै छट्पटायो । यो यति छिटो भयो कि मिनाले यो सब के भैरहेको छ भनेर भेउ पाउनु अगावै आमाको नाकमुखबाट रगत निस्कियो ।

“आमा ! ए आमा!..” मिना चिच्याउँदै रुन थाली । वल्लोघर पल्लोघर हल्ला गरी । मिना आफैँ बेहोस हुन लागिसकेकी थिई । मानिसहरु जम्मा भए ।

भर्खरै खनिएको कच्ची बाटोमा ट्याम्पु बोलाइयो । केही गाउँलेहरुको साथमा आमालाई ट्याम्पुमा लिएर मिना सदरमुकामको अस्पतालतिर लागी । बाउको अत्तोपत्तो थिएन । काँपेको हातले धेरै पटक फोन गरी । बाउको फोन स्विच अफ थियो ।

करिब आधा घण्टाको ट्याम्पुको यात्रापछि जिल्ला अस्पताल पु¥याईयो । बाटैमा मिनाको मनमा चिसो पसिसकेको थियो । आमाको कुनै चाल थिएन । कुनै प्रतिक्रिया थिएन । नभन्दै अस्पतालले नीरमाया राईलाई मृत घोषणा गरिदियो ।

अबेरसम्म जिल्ला अस्पताल दिक्तेल पुरै थर्किने गरी मिना रोएको आवाज टाढा टाढासम्म गुन्जिरह्यो ।

आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई आफ्नै काखमा, पलभरमै गुमाउने कोही छ भने उसैले मात्र महसुस गर्न सक्छ सायद मिनाको चोट ।

आमाको मृत्युको कारण उच्च रक्तचाप भन्यो अस्पतालले । टाउको भित्र अत्यधिक रक्तस्राव भएको थियो । मिनालाई यो सब सपना हो कि विपना हो ठम्याउन हम्मे प¥यो । मिना यो सबको लागि तयार थिइन । बिल्कुलै तयार थिइन ।

हुने हार दैव नटार भने झैँ मिनाको जिन्दगीमा त्यो भएरै छाड्यो । निर्मम समयको एकै छप्कामा मिना आमाविहीन हुन पुगी ।

आमा वितेको तीन महिना मात्रै भएको थियो बडो निर्लज्ज किसिमले मिनाको बावुले तारा शेर्पेनीलाई नयाँ श्रीमतीको रुपमा घर भित्र्याए ।

आफूले जीवनमा सबैभन्दा बेसी माया र सम्मान गरेको आमाको निमित्त एक बरखी पनि बार्न नसक्ने बाउ त्यसैदिनदेखि मिनाको नजरमा मरेतुल्य भयो । आफ्नो बाउ र उसकी नयाँ दुलहीलाई घरबार सुम्पिराखेर मिना सहरै फर्की ।

आमा बिनाको गाउँ, गाउँ जस्तो लागेन मिनालाई । आमा बिनाको मावली पनि अपूर्ण मावली लाग्न थाल्यो उसलाई । मावली जाँदा भेटिने छेपेखोलाको पुल पनि कमजोर लाग्न थाल्यो । ए…आमा भनेको त घर र मावली जोड्ने छेपेखोलाको पुल पो रहेछ ! मिनालाई पहिलो चोटि महसुस भयो ।

फेरि पढाइ र जागीरको उही चक्रमा सहर फर्कने अघिल्लो रात आमाको नाममा बनाइएको चौतारामा एक पाथी आँसु बगाई मिनाले । आमाको ढुङ्गे किताबलाई मनभरिने गरि सुम्सुम्याई ।

उसले कतै पढेकी थिई, आँसुहरु जतिसुकै तलतिर बगे पनि अन्नहरु थालबाट मुखतिर चढ्नै पर्छ र त्यसरी नै हो मान्छे बाँच्नु पर्ने । मिनाले पनि बाँच्ने निधो गरी । मन नलागी नलागी खान थाली । बिस्तारै तङ्ग्रीन थाली ।

स्मृतिका ढड्डाबाट फेरि मिनाले जागीर छाड्नु परेको कथा पल्टि आयो ।

एक दिन आफू काम गर्ने अफिसको हाकिमको नम्बरबाट एउटा म्यासेज आयो । लेखिएको थिया,े ‘तिम्रो फेसबुकमा हेरेर थाहा पाएँ । तिमी साह्रै राम्रो नाच्दी रहेछौ । यसो समय मिलाएर मलाई पनि सिकाइदेऊ न कहिलेकाही’, मिना रिसले रातो भई ।

संयमतापूर्वक लेखी, ‘सरी सर, त्यसरी सिकाउन सक्ने नै गरी मलाई पनि नाच्न आउँदैन । त्यतिकै टाइम पास गर्ने गरेको मात्र हो’, त्यसपछि धेरै दिनसम्म कुनै सन्देश आएन ।

मिनालाई लाग्यो अब यो सबै टरेर गयो । तर, एक रात फेरि हाकिमले म्यासेज ग¥यो । लेखिएको थियो, ‘तिमी यति सुन्दर छौ । उसो भए जे आउँछ त्यै सिकाईदेऊ न त‘ मिनाले हाकिमकी त्यति राम्री श्रीमती सम्झी । सुन्दर दुई छोरा छोरी सम्झी । लेख्न त बेस्सरी गाली गलौज नै लेख्न मन लागेको थियो उसलाई तर बेवास्ता गरेर चुपचाप मोबाइल अफ गरेर सुती ।

त्यसपछिका दिनहरु मिनाको लागि अफिस भनेको सजाय गृह जस्तै हुन थाल्यो । मौका मिल्यो कि हाकिम जिस्कन खोज्थ्यो । बेलानकुबेला लामो–लामो सन्देशहरु लेखी पठाउँथ्यो । यो सब सहन नसकेपछि केही नसोची मिनाले जागीर छाडी ।

जागीर त छाडी तर उता कोठाको भाडा तीन महिनादेखिको बाँकी थियो । थुप्रै किताबहरु किन्न पनि बाँकी थियो । किराना पसलमा रासन पानीको उधारो पनि धेरै पुरानो भइसकेको थियो ।

आर्थिक अभाव चलिरहेको बेला मानवको जन्मदिन आइदियो । मिनाले भएभरको बचत रित्याएर मानवको लागि एउटा घडी उपहार किनिदिई ।

मानव अक्सर आफ्नै जन्मदिन बिर्सिने गर्छ । तर, उसको हरेक जन्मदिन मिनालाई थाहा हुन्छ । पछिल्लो चार÷पाँच वर्षदेखि यही क्रम जारी छ ।

त्यो दिन मिना चाँडै उठी । नुहाईधुवाई गरी । योजना थियो, मानव बस्ने कोठामै गएर उसलाई उठाउने । सरप्राईज्ड गिफ्ट दिने । उसलाई लिएर मन्दिर जाने । कतै घुम्न निस्कने र कुनै सिनेमा हेर्न पनि जाने ।

मिना उपहार बोकेर सिधै मानवको कोठा भित्र छिरी । त्यहाँ मिनाले जे देख्नु प¥यो त्यसको बिचरीलाई कल्पना समेत थिएन ।

त्यहाँ उसको र मानवको साझा साथी सारिका नग्न स्थितिमा पलङमा मस्त निदाईरहेकी थिई । मिनालाई पुरै रिंगटा चलेर आयो । टेकेको जमिन नै भासिए जस्तो, पहाडनै ढलेर आफू माथि बज्रिए जस्तो भयो । उसले चारैतिर अन्धकार देखी ।

छिनभरमै मानव र सारिका मिनालाई देखेर आत्तिए । त्यसपछि मानवको जुन प्रतिक्रिया आयो मिनालाई छर्लङ्ग भयो, मिनाले प्रेम सम्बन्धको नाममा त्यत्रा वर्षहरु व्यर्थमा व्यतित गरिछ ।

मानवको हडबडाउँदै भन्यो, “सरी मिना! वी आर सो सरी ! एक्च्युअल्ली हिजो दुबै जना एउटा पार्टीमा भेट भएको । दुबै जना रक्सीले नराम्ररी झ्याप भइएछ । नशाको तालमा यो सब भयो । त्यस्तो केहि हैन ।”

मिनालाई घाँटी–घाँटी आयो । पुग्यो । अति भो । यस्तो मान्छेसँग के बोल्ने । के भन्ने । उसको पुरै धरती उल्टियो । आफूले बोकिरहेको उपहारलाई महानगरपालिकाको डस्टबिनमा मिल्काइराखेर मिना कुनै प्लास्टिकको पुतली जस्तै निष्प्राण आफ्नै कोठा फर्की ।

ए ! मानव त्यस्तरी मात्ने गरी रक्सी पनि पो पिउँदो रैछ ! ए..! पार्टीमा भेटेको केटीलाई आफ्नै बेडसम्म ल्याउन पनि सक्दो रहेछ ! ए…। मिना थुप्रै–थुप्रै ए हरुले पुरिँदै गई ।

सायद ज्यादै गहिरो भयो भने शरीरको चोटबाट रगत र मनको चोटबाट आँसु दुबै ढिला बग्छन् क्यारे । दोस्रो दिन मात्रै मिना जोडजोडले रोई ।

त्यही पलदेखि मिनालाई यो जाली दुनियाँमा बाँच्न मन लागेन । यो दुनियाँ ऊ जस्ती असलहरुको निमित्त अयोग्य भैसकेको ठहर गरी ।

सम्पूर्ण कुराहरु चलचित्र जस्तै मानसपटलमा प्रदर्शन हुन थाल्यो । आँखामा श्रावणको भेल बग्न सुरु भैसकेको थियो । छातिमा पिडाको ज्वारभाटा । अझ भनौं एउटा यस्तो तुफान जसमा रोष, दुःख, पीडा, आवेग के–के चाहिँ थिएन होला ! सबै मिसिएको थियो, सबै ।

अब ऊ सम्पूर्ण रुपमा तयार भई त्यो उचाईबाट हाम फाल्न र जीवनको अन्तिम खसाई खस्न । जीवनमा अन्तिम पटक बजारिन ।

ऊ जुरुक्क उठ्न लाग्दै गर्दा मोबाईलमा टिँ टिँ…बजेर म्यासेज आयो । दुईचार सेकेन्ड नै सही उसको ध्यान म्यासेजतिर मोडियो ।

काँपेको हातले मोबाइलको लक खोली । उसको बैंक खाताबाट रू.एक हजार काटिएको जानकारी रहेछ । के बापत काटिएको रहेछ भनेर ध्यान दिएर पढी ।

एक कम्पनीको दस कित्ता शेयर आईपिओ मार्फत उसलाई पर्न गएछ । त्यसैको एक हजार काटिएको रहेछ । हेरेर ऊ हाँस्नु न रुनु झैँ देखिई ।

पछिल्ला वर्षहरुमा उसले बीसौं पटक विभिन्न कम्पनीको आईपिओ भरेकी थिई । एउटा पनि परेको थिएन । आजभोलि भरोसा उडिसकेकोले भर्न समेत छाडिसकेकी थिई ।

ऊ संसार छोड्न ठिक्क परेकी छे, यता दस कित्ता सेयर पर्न गएको छ । यो कस्तो हाँस्यास्पद संयोग ! उसको ध्यान सेयरतिर छड्कियो ।

कुन कम्पनीको सेयर परेको हो भनेर फेरि मोबाइल खोलेर जाँची । नाम देखेर उसलाई झनै हाँस्न मन लाग्यो । आफूलाई नै व्यंग्य गरे झैँ कम्पनीको नाम थियो ‘न्यू लाईफ ईन्भेस्ट्मेन्ट ।’

अब भने उसलाई जोडजोडले आकाशतिर फर्केर रुन्चे हाँसो हाँस्न मन लाग्यो । ए…मर्नलाई तयार भएकी केटीलाई बीसौं पटकको प्रयासपछि दस कित्ता सेयर परेछ ! अझ कम्पनीको नाम नयाँ जीवन लगानी ? मिना थोरै–थोरै शान्त हुँदै थिई ।

मिनाले आफूलाई परेको जाबो दस कित्ता सेयरमा कम्पनीको हिस्सा देखिन । बरु आफ्नो जिन्दगीको बाँडफाँड पो देखी ।

आफ्नो उमेर सोची, जम्मा पच्चीस वर्ष । अहो ! जीवनको थुप्रै कित्ता पो बाँकी छ त !

उसले आफ्नो बाँकी जीवनलाई प्रति कित्ता दुई वर्षको दरले हिसाब गरी । दस कित्ताको बीस वर्ष भयो । अहिले ऊ पच्चीस भनेपछि अबको दस कित्ता वर्षहरुमा ऊ जम्मा पैंतालीस वर्षकी हुन्छे । एक्कासी बाँकी उमेरको माया पलाएर आयो ।

‘के यो सेयर आउने दिनहरुको शुभ संकेत हो मेरो लागि ?’ ऊ सोच्न थाली । मिनाको ध्यान क्रमशः जीवन जिउँनेतिर मोडिन थाल्यो ।

मिनाको आवेग, उत्तेजना सबै मत्थर हुँदै गइरहेको थियो । जिन्दगी जिउँनु पो पर्छ भन्ने सोचको लहराले मुन्टो उठाउँदै गयो ।

‘एउटी छोरीको रुपमा, एउटी प्रेमिकाको रुपमा एउटी स्टाफको रुपमा मैले जहिल्यै आफ्नो उत्कृष्ट भूमिका निभाएँ । मेरो के गल्ती छ ? जजसले मलाई दुःख दिएका छन्, गल्ती त ती पुरुषहरुको छ । उसो भए म किन मर्नु?’ मिना सोचमग्न भई ।

आखिरमा यो विचारले जिन्दगीलाई रोज्ने निर्णय लियो । मिनालाई ग्लानी बोध हुँदै गयो । उ आफ्नो निर्णयबाट बडो नाटकीय रुपमा पछि हटी ।

अन्ततः मर्ने योजना रद्द गरेर मोबाइलको उज्यालोमा ओरालो झर्दै गर्दा मिना आफैँलाई आफैसँग थोरै संकोच, थोरै लाज लागिरहेको थियो ।

‘दस कित्ता सेयर परेर मर्न बाट जोगियौ हैन त मिना जी ? कस्तो फन्टुस सोच भएकी केटी !’ आफ्नै टाउकोमा आफैँले प्याट्ट हानी ।

अनि आफँैलाई सम्झाउँदै पनि थिई ‘केटी ! ठिक गरिस् । गम्भीर–गहिरो विचार र दर्शनले थिचिएर मर्नु भन्दा हलुका फन्टुस सोचले बाँच्नु नै जाती । जिन्दगी भनेको त फन्टुस सोच विचारहरुले नै चल्ने हो ।’

हेर्दाहेर्दै विस्तारै त्यो अग्लो डाँडाबाट मोबाइलको एउटा सानो पिलपिले बत्ति ओरालो झर्दै सहरको मूख्य झिलिमिलिमा कतै बिलायो ।