९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

प्रहरीले दोलखाको बिगु गाउँपालिका-१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो।

तस्करहरूले चिनिया नागरिकसँग मिलेर चीनबाट दोलखाको बाटो हुँदै सुन तस्करी गरेको खुलेको थियो। सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन जिल्ला अदालत दोलखाले आदेश दिएको छ।

महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा बिगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।

यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतले आदेश दिएको छ।