मन्त्रिपरिषद् हेरफेर गृहकार्यमा प्रधानमन्त्री दाहाल

मन्त्रिपरिषद् हेरफेर गृहकार्यमा प्रधानमन्त्री दाहाल

को–को मन्त्री फेरिदैछन् ?


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् फेरबदलको गृहकार्यमा जुटेका छन् । अहिले प्रधानमन्त्री दाहाल दुबई भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल दुबईबाट फर्केपछि मन्त्रिपरिषद् फेरबदल गर्ने तयारीमा जुटेका हुन् । विश्व जलवायु सम्मेलनमा सहभागी हुन दुबई जानुअघि उनले यसबारेमा आफ्नो पार्टीभित्र अनौपचारिक छलफलसमेत गरिसकेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री नियु्क्त भएको आगामी पुस १० गते १ वर्ष पुग्दैछ । गठबन्धन दलबीच भएको पूर्वसहमतिअनुसार दाहालले मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको तयारी गरेका हुन् । उनी फर्किएलगत्तै गठबन्धन दलहरुमा औपचारिक छलफल हुने दाबी नेताहरुले गरेका छन् । त्यसका लागि अहिले गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय समिति बैठक नै बोलाएर छलफल गर्ने तयारी गरेको माओवादी श्रोतले जानकारी दिएको छ ।

गठबन्धनको मुख्य दल नेपाली कांग्रेससमेत मन्त्री परिवर्तन गर्ने पक्षमा छ । तर त्यसका लागि केही समय लाग्ने दाबी कांग्रेसका नेताहरुको छ । पुस तेस्रो साता महासमिति बैठक र माघ ११ गते राष्ट्रियसभाको चुनावपछि मात्रै मन्त्रिपरिषद् फेरबदल हुनसक्ने बुझिएको छ ।

मन्त्रिपरिषद् हेरफेर गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समेत सरकारमा सहभागी गराउनेबारे आन्तरिक गृहकार्य प्रधानमन्त्री दाहालले गरेका छन् । सोबारे उनले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग चरणबद्ध छलफल गरेका छन् । जवाफमा लामिछानेले आफूहरूले उपप्रधानसहित गृह मन्त्रालय पाए थप छलफल गर्दै सरकारमा सहभागी हुन सक्ने सकारात्मक जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसमेत अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने तयारीमा छन् । मन्त्रीहरुको कार्यसम्पादन कमजोर भएको भन्दै आलोचना हुन थालेपछि पनि प्रधानमन्त्रीले मन्त्री फेरबदलको चाहना राखेका हुन् । कांग्रेसले विवादस्पद अभिव्यक्ति दिने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, कार्यसम्पादन राम्रो गर्न नसकेकी शहरी विकास मन्त्री सीता गुरुङलाई फेर्ने तयारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राईलगायतको कार्यशैली र कार्यसम्पादनप्रति प्रधानमन्त्री मात्र नभएर दलका शीर्ष नेताहरु नै सन्तुष्ट छैनन् ।