रुसी सेनामा गएका ६ नेपालीको निधन

रुसी सेनामा गएका ६ नेपालीको निधन

शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन रुस सरकारसँग अनुरोध



काठमाडौं । रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो ।

ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

सरकारले युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।

‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

रुसी सेनामा निधन भएका नेपालीहरु सम्बन्धीप्रेस विज्ञप्ति

यस मन्त्रालयले मिति २०८०।०४।१६ मा एक प्रेस विज्ञप्ति मार्फत विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको व्यहोरा स्पष्ट गरेको विदितै छ ।

तथापि,रुसमा हालै देहायका ६ जना नेपाली नागरिकहरुको रुसी सेनामा कार्यरत रहँदा दु:खद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ ।नेपाल सरकार दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

नेपाल सरकारले रुसी सरकारलाई निजहरुकोशव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन अनुरोध गरेको छ ।

निधन भएका नेपालीहरुको विवरण:
क्र. सं. नाम नेपालमा ठेगाना
१ सन्दिप थपलिया गोरखा
२ रुपक कार्की वाणगंगा-१, कपिलबस्तु
३ देवान राई पोखरा, कास्की
४ पितम कार्की पुतलीबजार-५, स्याङ्गजा
५ राज कुमार रोका मेलुङ्ग-६, दोलखा
६ गंगाराज मोक्तान इलाम-५, इलाम

यस सम्बन्धमा नेपाली नागरिकलाईरुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक श्री विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको व्यहोरा जानकारी गराइन्छ ।

त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने No Objection Certificate(NOC) लिएर मात्र यात्रा गर्नु हुन सर्बसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ ।

अत: कसैको प्रलोभनमा परीवा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुन: हार्दिक अनुरोध गर्दछ ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाण्डौ
मिति: २०८०।०८।१८