सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगियो दुई युवाको शव

सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगियो दुई युवाको शव



काठमाडौँ । ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका युवा र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ ।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो भने वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो । त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्‍याइने प्रहरीले बताएकाे छ ।