उपाधिका लागि कोशीलाई ११५ रनको लक्ष्य

उपाधिका लागि कोशीलाई ११५ रनको लक्ष्य



काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशविरुद्ध ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो ।

एपीएफकी इन्दु बर्माले ५३ रन बनाइन् । उनले ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन् । ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफविरुद्ध कोशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । चार ओभर बलिङ गरेकी अप्सरीले २१ रन खर्चिदै तीन विकेट लिएकी हुन् ।

अप्सरीले १९.१ ओभरमा इन्दु बर्मालाई, १९.२ ओभरमा नेरी थापालाई र १९.३ ओभरमा सोनु खड्कालाई आउट गरिन् ।

यसबाहेक, अलिसा खाडियाले दुई विकेट लिँदा कप्तान रुविना क्षेत्री र निशा साहले समान एक विकेट लिए ।