प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र कर्णाली विजयी

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र कर्णाली विजयी



काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् ।

नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकालेको हो । जितका लागि दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८९ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाएका हुन् । ओपनर आशुतोष घिरैयाले ५७ बलमा पाँच चौकासहित ४१ रन बनाए । त्यसबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका रोहित पौडेलले चार विकेट लिए भने अभिनाश बोहरा र श्याम ढकालले समान दुई–दुई विकेट लिए । पुरन विक र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । उनले सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।

त्यस्तै, लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०/१० रन बनाए ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यस्तै, सोनु देवकोटाले एक विकेट लिए । यस हारसँगै बागमती प्रदेशको यो दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।

यस्तै आजै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १ सय २३ रनको लक्ष्य कर्णालीले ३३ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । कर्णालीका हिमांशु शाहीले ५३ रन बनाए । गण्डकीका अङ्कित न्यौपानेले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनायो । गण्डकीका अमृत गुरुङ र कमल परियारले सर्वाधिक समान २१ रन बनाए । कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान २ विकेट लिए ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।