काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।
क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।
ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।
अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको पाइएकाे छ ।
“अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । पछिल्लो समय हुन्डी कारोबारी क्रिप्टोमा पनि जोडिने गरेको पाइएको छ,” निर्देशक ढुंगानाले भने, “उनको संलग्नता के–केमा छ, अनुसन्धानबाट थप प्रष्ट होला ।”
पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।


प्रतिक्रिया