दोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु

दोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु



मस्को । युक्रेनी सेनाले आइतबार दोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम र १५५ एमएम क्यालिबरका गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले दोनेट्स्कका स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरू अधिकांशको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यो घटनाबारे छलफल गरिने घोषणा गरेको छ । रुसी विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको कार्यक्रममा पनि यो मुद्दा उठाउने योजना बनाएको छ कार्यक्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुनेछन् ।