कोशी प्रदेश मुख्यमन्त्री कार्कीको प्रथामिकतामा स्वास्थ्य

कोशी प्रदेश मुख्यमन्त्री कार्कीको प्रथामिकतामा स्वास्थ्य

छोटै अवधिमा देखिन थाल्यो परिणाम



काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले स्वास्थ्य क्षेत्रलाई बिशेष प्रथामिकतामा राखेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको छोटो समयमै प्रदेशको स्वास्थ्य क्षेत्रमा परिणामहरु देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैले सम्हालिरहेका मुख्यमन्त्री कार्कीले प्रदेश राजधानी विराटनगरलाई मेडिकल हबको रुपमा विकास गर्ने योजना तर्जुमा गरिरहेका छन् ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई समेत साथमा लिएर काम गरिरहेका छन् । उनले प्रदेश अस्पताल र निजीतर्फका चारवटा अस्पतालसँग सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेका छन् ।

कोशीमा शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पताल सञ्चालनमा आएको छ । यो अस्पताल सञ्चालनमा आएपछि हृदय रोग उपचारका राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

कोशी प्रदेश सरकारले सुनसरीको पकलीमा जलन अस्पताल निर्माण गर्ने सम्झौता गरिसकेको छ । आगलागीमा परी घाइते भएका विरामीहरूको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो ।

बालबालिकाको निःशुल्क उपचार

मुख्यमन्त्री केदार कार्कीले प्रदेश अस्पताल र निजीतर्फका चार वटा अस्पतालसँग सम्झौता गरेर १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेका छन् । नोबेल शिक्षण अस्पताल विराटनगर, हाम्रो अस्पताल विराटनगर, विराट शिक्षण अस्पताल विराटनगर, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग प्रदेश स्वास्थ्य मन्त्रालयले सम्झौता गरी निःशुल्क उपचार सुरू गरिएको हो ।

दुई पक्षीय सम्झौता पत्रमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा. भगवान कोइराला, नोबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाल लगायतले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको अब कोशीमा अन्त्य भएको बताए । ‘बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खोज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताको घर धाउने र उपचार खर्च तिर्न नसकेर मसानघाट लग्न फेरि नेताको घर धाउने र उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्रो किन्ने पैसा माग्नु पर्ने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको छ,’ उनले भने, ‘अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गरेर कुनै पनि बालबालिकाको उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।’

शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन

शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पताल सञ्चालनमा आएको छ । मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए ।

हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र काठमाडौं बाहिर बन्ने पहिलो अस्पताल बनेको छ । अब कोशी प्रदेशका हृदय रोग बिरामीहरू उपचारको लागि काठमाडौं धाँउन नपर्ने भएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताए ।

पकलीमा जलन अस्पताल

कोशी प्रदेश सरकारले सुनरीको पकलीमा जलन अस्पताल निर्माण गर्ने सम्झौता गरेको छ । आगलागीमा परी घाइते भएका विरामीहरूको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो ।

२५ पुसमा प्रदेश स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा रहेको २ विघा १० कठ्ठा जग्गामा ५० शैया जलन र ५० शैया सामान्य गरी १ सय शैय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो । प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन मिहनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिने सम्झौतासमेत गरेको छ ।

४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने भएको छ । प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।