न्यूरोडका व्यापारीहरु सटर बन्द गरेर आन्दोलित

न्यूरोडका व्यापारीहरु सटर बन्द गरेर आन्दोलित



काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो ।

अहिले त्यहाँका व्यापारीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका छन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यापारीले विरोध जनाएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।

व्यापारीहरूले काठमाडौं महानगरको कार्यालय अगाडि पनि प्रदर्शन गरेका छन् । शान्तिवाटिकादेखि र्‍याली निकालेर उनीहरूले काठमाडौं प्लाजास्थित काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन् ।

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।

यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।