६ सय जनाभन्दा बढीबाट करोडौं ठग्ने एकजना पक्राउ

६ सय जनाभन्दा बढीबाट करोडौं ठग्ने एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो ।

नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पठाउँछु भनेर ६९ करोड ठगि गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

उनी काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न थिए ।

तामाङलाई पक्राउ गरेको जानकारी पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयमा सय जनाभन्दा बढीको भीड लागेको छ ।

उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ ।

माघ १७ गते पक्राउ गरी उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।