झापा । कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट र व्यवहारिक जटिलताका कारण दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापाका एक युवाको उद्दार गरिएको छ ।
भद्रपुर नगरपालिका-१० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएकाे हो । झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए ।
उनलाई नेपाल ल्याउन १ महिनाभन्दा बढी समयदेखि कोसिस गरिँदै आएको थियो । पछिल्लोपटक दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा राजवंशी अलपत्र परेको सन्देश पोस्ट गरेर शर्मालाई लिङ्क पठाएका थिए ।
त्यसलगत्तै सांसद शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तिम्सिनालाई सम्पर्क गरेर अजीतको जसरी पनि उद्दार गर्न आग्रह गरेका थिए । त्यसपछि अजीतको उद्दारको प्रक्रिया सुरु भएको थियो ।
माघ १७ गते राति काठमाडौं आइपुगेका राजवंशी आजै झापा पुग्ने कार्यक्रम रहेको कांग्रेसका नेता प्रज्वल कोइरालाले बताए ।
रोजगारीका लागि दुबई पुगेका राजवंशी काम गर्दागर्दै अचानक बिरामी परेका थिए ।


प्रतिक्रिया