ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री गच्छदार र पूर्वमन्त्री श्रेष्ठले पाए सफाइ

ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री गच्छदार र पूर्वमन्त्री श्रेष्ठले पाए सफाइ

१२ जना दोषी ठहर, ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने



काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले सफाइ दिएको हो ।

प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै ९ करोड रुपैयाँ जरिवाना १२ जनाले दामासाहीले तिर्ने फैसला भएको छ । त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।

इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए ।

जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।