राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी, तत्कालीन तीन वन अधिकृत र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा प्रदेश सांसद यादवसहित तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले छन् ।

अख्तियारले सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसादसिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी (चौधरी)विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, वनरक्षकहरू सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी र वासुदेव गोडिया, फरेस्टर रमतु चौधरी, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन संयोजक/अध्यक्ष जानकीप्रसाद यादव, गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद–बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुदा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा एकनाथ घिमिरेसँग नौ लाख ३९ हजार १३५ र गीता जिसीसँग १९ लाख ७३ हजार ५८ रुपैयाँ बिगो दाबी गरिएको छ । मुद्दा दायर गरिएका अरू बाँकी सबैसँग २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो दाबी गरिएको छ ।