तरुणदलका नेतामाथि गोली प्रहार गर्ने चार जना सार्वजनिक

तरुणदलका नेतामाथि गोली प्रहार गर्ने चार जना सार्वजनिक



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा तरुणदलका नेतामाथि गोली प्रहार गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज सार्वजनिक गरेको हो ।

पकाउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका- २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका- ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् ।

घटनामा संलग्न थप दुई जना फरार रहेकोमा उनीहरूको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका-४ स्थित गणेश होटेलमा बास बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा उनीहरू बास बसेका थिए ।

एक जना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

गएराति विनोद गिरीको गाडीलाई लक्षीत गरेर उनीहरूले गोली चलाएका थिए। मोटरसाइकलमा पिछा गर्दै वीरेन्द्रनगर नगरपालिका-१ स्थित गैरीचोकमा उनीहरूले एक राउण्ड गोली प्रहार गरेका थिए । त्यस पश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको थियो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।