प्रतिष्ठान परिसरमा गायक तथा संगीतकार आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै

प्रतिष्ठान परिसरमा गायक तथा संगीतकार आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै



काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत संगीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।

प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–संगीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताए । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिए । उनका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–संगीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्किरहने बताए ।

आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–संगीत क्षेत्रमै छन् ।

उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्वपूर्ण योगदान छ ।