आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धाञ्जली गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ ।

मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् । अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।