हात्तीमैत्री पदयात्रा र हात्तीको ज्ञापन पत्र

हात्तीमैत्री पदयात्रा र हात्तीको ज्ञापन पत्र



आधुनिक सूचना प्रविधिका उपकरणहरु ड्रोन, सिसिक्यामरा, जिपिएस, साइकल गस्तीका नाममा बुट्स अन द ग्राउण्ड नामको पैदल गस्ती मासिएको हराएको वर्तमान सन्दर्भमा कोशी प्रदेशका मुख्यमन्त्री र उहाँको टिमले ७ दिन लामो करिब २६० किमि पैदल गस्ती गरेर हात्ती र ५० लाख जनताको भावना, माग र मर्म बुझ्ने काम गरेको छ । सफा मन र असल नियतले गरेको यो हात्तीमैत्री पदयात्रालाई समाजका विविध सिद्धान्त, आदर्श, बिचार, धर्म, संस्कृति, आस्था बोकेका सम्पूर्ण जनताले अपार स्वागत, अभिवादन, न्यानो आतिथ्यता र हार्दिक सहयोगभाव दर्शाएका छन् । हात्ती संरक्षण र सहअस्तित्वका लागि निःशर्त एकबद्धता जनाएका छन् । बिज्ञहरुले यसलाई संरक्षण नारा बोकेर राजनीतिज्ञले आफ्ना नेतृत्वमा पृथ्वीमा गरेको पहिलो विशाल र दुर्लभ यात्राको संज्ञा दिएका छन् ।

बिगतमा हात्ती मार्ने फैसला पुनर्बिचार गर्न र घटाइ माग्न हात्ती सुनसरी अदालत पुगेको घटनाले न्यायमुर्तिहरुको मन छोएको थियो । हात्ती मार्ने अर्को निर्णय हुनु अगावै मकुना हात्तीले बैठक समक्ष उपस्थित भई, बलिन्द्र आँसु झारेर आत्मसमर्पण गरेको नजीर ताजै छ । यी दुई रोचक घटना हात्तीबिज्ञ डा. अशोकरामबाट सुन्न छुट्टै मजा आउँदछ ।

पृथ्वीमा पहिलो र सायद अन्तिम दुर्लभ हात्तीमैत्री यात्रा भइरहदा हात्तीले रत्तिभर बाधा–व्यवधान, दुःख दिएनन् । आफू सुरक्षित दूरिमा बसेर जंगलबाट चियाई चियाई हेरे । यात्राको सातौं दिन २१ वटा हात्ती पंक्तिबद्ध सडकमा हाजिर भए । पूण्य र पबित्र भूमि नेपालमा जायजन्म भएका छावाहरुलाई अगाडि लगाए । पदयात्राको समापन कार्यक्रममा जाँदै गरेका मन्त्रीगण र अतिथिहरुले यो भद्र र शान्त उपस्थितिलाई हात्तीहरु ज्ञापन पत्र बुझाउन आएको अथ्र्याए । हात्तीहरुको पहिलो ज्ञापन पत्रलाई डिकोड् गरेर प्रस्तुत गर्दैछु –

हात्तीमैत्री सोच र दूरदृष्टिका लागि हामी कृतज्ञ छौं । ३ महिना अघिदेखि हात्ती–मानव हितमा लगातार सञ्चालित प्रशिक्षण र सचेतना एवं अन्तरक्रिया कार्यक्रम, तालिम र गोष्ठी देखेर हामी आभारी थियौं । आफ्नो बचनमा प्रतिबद्ध माननीय मुख्यमन्त्रीको पैदल यात्रा गरेर हाम्रो परम्परागत भुपरिधि जैबिक मार्ग र आसपासका बस्ती हेरी छाड्ने दृढ संकल्पको सानदार कार्यान्वयन देखेर हामी नतमस्तक छौं । नमन छ हात्तीमैत्री र जनमैत्री मुख्यमन्त्रीलाई । हरसमय हात साथ र काँध दिने बन तथा पर्यटन मन्त्रीलाई । बन सचिब र पूर्बी भुपरिधि क्षेत्रका सबै बन अधिकारी, बनकर्मी, संरक्षणकर्मी, संरक्षणबिज्ञ, ¥यापिड रेस्पोन्स टिम (आरआरटी), सुरक्षा निकायहरु, स्थानीय समुदाय संरक्षण साझेदार संघ–संस्था वाताबरण पत्रकारहरुलाई ।

फाल्गुण ९ गते हाम्रो प्रबेशद्वार झापाको बाहुनडाँगीबाट १५ गते उदयपुरको बेलसोतसम्म अहोरात्र अनबरत पैदल यात्रा गर्दा पुग्न गएको शारीरिक घाउ दुखः कष्ट भोक निन्द्रालाई हाम्रा नाबालकहरु र जंगलमा आश्रित बिपन्न बर्ग जनताको माया दया चिन्ताको मलम लाउँदै, सहअस्तित्वको सुन्दर भविष्य कोर्दै, पूरा गरेको यो महायज्ञले सबैलाई जितैजित्को महशुस भएको छ ।

न हात्ती र जनताले पदयात्राको राजनीति गन्ध पाए । न पदयात्राले मानव–बन्यजन्तु र मानव–मानव द्वन्द्वको दुर्गन्ध पायो । सबैले केवल पाए सहनशीलता, सहअस्तित्व र सुशासनको सुगन्ध । हामी सबै गौरवान्वित छौं ।

पबित्र र महान् उद्देश्य बोकेर क्याम्पिङ्ग गर्दै सामान्य दालभात चिउरा खाँदै पूरा गरेको २६० किमि लामो पदयात्रा पुस्तक भन्दा ठूलो सिङगो युनिभर्सिटी रहेकोमा दुबिधा भएन । आजीवन अबिष्मरणीय रहनेमा पनि सन्देह रहेन । हाम्रो र जनता दुबैको बाटो, बासस्थान (गाँस–बास्) टालिने, सुधारिने, जोडिने कुरामा पनि दुईमत रहेन । हराएको चुरेको खोजी र पुनरभरण हुने कुरामा पनि शंका रहेन । जल जंगल र हात्तीको महत्व, औचित्य एवं आवस्यकता बनकर्मीबाट होइन, राजनीतिक नेतृत्वको मुखारबिन्दुबाट सुन्दा जनता भ्रममुक्त भए । हात्तीले दुःख समस्या दिएको छैन, बरु दुःख प्रहार हामीबाट हुन गएको छ भन्ने सत्यवाणी स्थानीय जनताको जिब्रोबाट सुन्न पाउँदा जनप्रतिनिधि र कर्मचारीहरु पनि भ्रममुक्त भए ।

हात्ती यो वा त्यो देशको पहिचानवाद होइनौं, बरु धेरै देशलाई एउटा मालामा जोड्ने र बिश्वलाई समृद्धिको पर्यटन छातामुनि सामेल गरेर चकित पार्ने प्राकृतिक दूत हौं ।

सयौं बर्षसम्म पूर्वी नेपालको हाम्रो चारकोशे झाडी कब्जा गर्न तछाड्मछाड् हुनु तर त्यही जंगल जमिन जलका उपहार जैबिक बिबिधताको संरक्षण गर्ने संयन्त्र नहुनु दूर्भाग्य थियो । ढिलो भए पनि संरक्षणको आवश्यकता महशुसले हामीलाई हर्षविभोर बनाएको छ । पदयात्रा नेतृत्व र टोलीलाई सधै हात्तीआशिष लागिरहोस् ।

हात्ती र स्थानीय आम जनता दुबै सरल शालीन, भद्र, नम्र, शान्त र अबोध छन् । हात्ती–मानव कृत्रिम द्वन्द्वका पात्र बन फाँड्ने, काठ ढुंगा गिट्टी बालुवा तस्करी गर्ने, हात्ती–मानव दुबैको शान्ति भंग गर्ने बनमार-जनतामारा हुन् भन्ने कुरा छर्लङ्ग भएको छ । राजनीतिक नेतत्वले यो दिब्य र सत्य ज्ञान प्राप्त गर्नु नै समस्याको समाधान हो । निकास पहिल्याउने द्रूत्तर मार्ग हो ।

मुख्यमन्त्रीले हेलिकोप्टर सवार गरेको भए पनि हुन्थ्यो । झण्डावाल जिप सफारी गरेको भए पनि हुने थियो । कहिले जिप कहिले पैदल हाईब्रिड् यात्रा गरेको भए पनि हुन्थ्यो । सुरक्षाको कारण भनेर पदयात्रा स्थगित गरेको भए पनि हुने थियो । तर, हाम्रा पाइला, बिष्टा र संकेतहरु नाप्दै पढ्दै निष्कर्ष निकाल्दै स्थानीय बृद्धबृद्धा महिलाहरुलाई घर आँगन पुगेर आमाबुबा दिदी दाजु भनेर ढोग्दै सुन्दै गरेको सम्मानजनक पदयात्राले ब्याप्त भ्रमहरु मात्र चिरेको छैन आगामी नीति, योजना, कार्यक्रमलाई दिशाबोध गर्ने भएको छ । चाहेमा सरकार घर–आंगन र हात्तीबासमा उर्जा र उज्यालो लिएर आउन सक्ने सकरात्मक सन्देश दिएको छ । क्षेत्रीय, जातीय, धार्मिक द्वन्द्व एंव सुरक्षा खतरा अर्को कृत्रिम भ्रम हो र नेपालको सामाजिक, साँस्कृतिक सद्भाव सहिष्णुता सामञ्जस्यता आज पर्यन्त बिशिष्ट र अलौकिक छ । माया, प्रेम, करुणा, मेलमिलापले ओतप्रोत समाज एकढिक्का र एकताबद्ध छ । न हात्ती र जनताले पदयात्राको राजनीति गन्ध पाए । न पदयात्राले मानव–बन्यजन्तु र मानव–मानव द्वन्द्वको दुर्गन्ध पायो । सबैले केवल पाए सहनशीलता, सहअस्तित्व र सुशासनको सुगन्ध । हामी सबै गौरवान्वित छौं ।

जंगल काँटछाँट गर्दै दैनिक २ सय केजी घाँस खानु २ सय लिटर पानी पिउनु र लगातार बिष्ट्याएर जमिन जंगल मलिलो बनाउनु हाम्रो जीवनचक्र हो । बाध्यता हो । हाम्रो बिष्ट्याईभित्र प्लाष्टिक, चाउचाउको खोल, स्यानिटरी प्याड् देख्नु फेला पार्नु पदयात्रा टोलीको गहिरो अध्ययन र अनुसन्धान हो । बन जंगल बढ्ने भयो । हाम्रो आहारको बन्दोबस्त हुने भयो ।

पिउन खेल्न नुहाउने घाउको प्राकृतिक उपचार गर्न हामीले हिलो खेलेको संकेत छाड्यौं । रुखभरि बालुवा छ्याप्यौं । तपाईहरुले जल, जलाशय, ताल तलैया चाहिने निष्कर्ष निकाल्नु भयो ।

टुटेफुटे छुटेको जैबिक मार्ग जोडेर हाम्रो परम्परागत पदमार्ग सुरक्षित राखिदिनु हुने भयो ।

भुलबस र अन्जान अज्ञातमा हामीबाट हुने कृषि, पशुधन र मानवीय क्षतिको लागि शीघ्र उद्धार राहत बिमा र क्षतिपूर्तिको व्यवस्था हुने भयो । झापाको बाहुनडाँगी जस्तै सहअस्तित्वको असल अभ्यासले कोशी प्रदेश चम्किने टल्किने भयो । पर्यटक, अध्येता, अनुसन्धानकर्तालाई व्यवहारिक बिश्वबिद्यालय सरह हुने भयो ।

हामी सबैको अहोभाग्य र जितैजित !

यो दुर्लभ पदयात्राले हाम्रा बिद्युतीय धराप र चोरी शिकारका कारण क्रमशः ४७ र ८ जम्मा ५५ वटा मृत हात्तीलाई न्याय मिलेको छ र हाम्रा छावाहरुको उज्वल भविष्यको दियो बलेको छ ।

प्रकृति र हात्तीले जुराएको यो अतियोग्य, अति संबेदन, अति समझादार प्रकृतिमैत्री, संरक्षणमैत्री, जनमैत्री, सुशासनमैत्री र शान्तिकामी टिमबिल्डिङ्ग र नमूना समन्वय, सहकार्य र टिमवर्कलाई कोटी कोटी नमन छ ।

पबित्र र महान कार्यको शुभारम्भ र समापनमा संघको सक्रिय सहभागिताले पदयात्राको शोभा बढाई दियो । प्रदेश र स्थानीय सरकारलाई ठूलो उर्जा हौसला र मनोबल थपिदियो । बन मात्र होइन बन्यजन्तु संरक्षणको अधिकार र स्वामित्व स्थानीयलाई दिने संकेत ग¥यो । अर्को अहोभाग्य !

कोशीको यो साहसिक संरक्षण पहलता र निर्णयको असल अभ्यास अरु प्रदेशमा फैलियोस् ।

निकट भविष्यमा आउनै लागेको बन्यजन्तु सप्ताहमा अरु धेरै बन्यजन्तुमैत्री पदयात्राहरु संचालन हुन् । राष्ट्रियस्तरमा मेची–महाकाली साइकल, मोटरसाइकल मोटर बन्यजन्तु संरक्षण यात्रा र प्रदेशस्तरीय यात्राहरु हुन् । प्लाष्टिकमुक्त सरसफाइका दिगो र अर्थपूर्ण यात्राहरुको सफल कार्यान्वयन होस् ।

यो पदयात्रा टोलीले ७ दिनमा चरो मुसो स्याल नदेखेजस्तो खाली बन जंगलहरुमा बिष, पासो, चोरी शिकार बन्द होस् । अबैध हतियारहरु संकलनको अर्को यात्रा थालनी होस् र जल जमिन जंगलहरु जीवजन्तु, जलचर र पंक्षीले भरिउन् ।

यो ऐतिहासिक पदयात्रा टोलीलाई राष्ट्रपति र संघीय सरकारले राष्ट्रिय मानपदवी, अलंकार र पुरस्कारले सम्मान गरोस् ।

संधै राजनीतिक एकताको माला चुंडिएको ऐतिहासिक र बर्तमान पीडामा प्रकृति, हात्ती र संस्कृतिले चार होइन सातवटा सुरक्षा निकायहरुलाई एउटै धागोमा उनेको चम्किलो माला देख्न पाइयो । सशस्त्र बनरक्षक, नगरप्रहरी, आरआरटी समेत टल्किएर चम्किएर सबैको साझा राष्ट्रिय सुरक्षा धागोमा उनिदा हीरा मोतीको मालाजस्तो देखिएको थियो । यी सात सुरक्षा पत्रको जवाफदेही सुरक्षा रिङ्ग बनाउँदा अकालमा एउटा पनि जीबजन्तुको मृत्यू सम्भव छैन । पैतलाभरि घाउ र फोका उठाएर पैदल यात्रा पूरा गर्ने ती सुरक्षाकर्मीहरुलाई नेपाली सेनाले प्रधानसेनापति प्रशंसा पट्ट छातीमा लगाइदिएर सम्मान गरिदियोस् ।

जैबिक बिबिधताको धनी देश भनेर चिनिने नेपालको निकुञ्ज आरक्ष बाहिरको बन्यजन्तु संरक्षणको ऐन कानून नभएको अथवा बन र बन्यजन्तुलाई छुट्याएर हेर्ने त्रुटीपूर्ण छिद्र टाल्न जरुरी भएको निष्कर्षले बन्यजन्तु संरक्षण र व्यबस्थापनको दरो कानून आउने सम्भावनालाई संकेत गरेको छ । जसले राष्ट्रिय, प्रदेशीय र स्थानीय प्राणीउद्यान र पर्यापर्यटनलाई प्रबद्र्धन गर्ने छ । स्थानीय समुदायस्तरको संरक्षण तत्परता र अग्रसरताले बन्यजन्तुको अपनत्व र स्वामित्व लिन स्थानीय सरकार र समुदाय कटिबद्ध देखिन्छ । बिश्वको उत्कृष्ट संरक्षण मोडल पनि त्यही हो । र, निकुञ्ज आरक्षबाहेकका संरक्षण क्षेत्रहरु, जैबिक मार्गहरु, राष्ट्रिय धार्मिक कबुलियती सामुदायिक र निजी बन जंगलको बन्यजन्तु संरक्षणको जिम्मेवारी र जवाफदेहीता प्रदेश र स्थानीय सरकारलाई दिन बान्छनीय हुने आँखा कान खोलिदिएको छ ।

यो पदयात्राले अन्तरप्रदेशीय, अन्तरदेशीय बन्यजन्तु अनुगमन र संरक्षणलाई सिमेण्ट भन्दा दरो रसायन लगाएर मजबुतिकरण गर्न दिशा निर्देश गरेको छ ।

भूपरिधि संरक्षण आयोजनाको ईतिहासमा राजनीतिक अपनत्व, स्वामित्व अभिभावकत्व र नेतृत्व दिने बिश्वकै पहिलो, हिम्मतिलो र दूरदर्शी राजनीतिक नेतृत्व केदार कार्कीको यो संरक्षण र समृद्धि पहलकदमीको असल अभ्यास यो देश, क्षेत्र र पृथ्वीभरि फैलियोस् । राजनीतिक नेतृत्वमा सर्बत्र यो धर्ती, प्रकृति र संस्कृतिको युगयुगसम्म रक्षा कल्याण सम्मान होस् ।

सबैको शान्ति समृद्धि र उज्वल भबिष्यको सपना बोकेको हर्ष र गौरवले ओतप्रोत हाम्रो पहिलो ज्ञापन पत्र यही अन्त्य भएको सहश्र जानकारी गराउदछौ ।

ज्ञापन पत्र चढाउने
प्राचिन र आधुनिक मानव बिकास एवं सभ्यताका अनन्य सेवक हात्तीहरु ।