तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष



काठमाडौं । तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उनलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ ।

‘हामीले हत्यारा पत्ता लगाइसकेका छौं, पक्राउ पर्न मात्रै बाँकी हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भने ।

पाठकका अनुसार ढकालको हत्यामा हालसम्म तिनै व्यक्ति संलग्न देखिन्छन्, जुन दिन ढकालसँग उनी मात्रै अन्तिम समयसम्म थिए । सूर्यविनायक नगरपालिका-८ भक्तपुर सिपाडोलको एउटा गोठमा ढकालको शव हत्या गरेको अवस्थामा गत फागुन ११ गते फेला परेको थियो। उनी फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्केका थिए ।

उक्त घटना अनुसन्धानको क्रममा अन्य दुई जना (एक जना केटा र केटी) पक्राउ परेका थिए । ‘घटनाको अन्तिम सिनमा ती दुई व्यक्ति देखिँदैनन्, त्यसकारण हत्या गर्ने व्यक्ति ढकालसँग गोठतिर हिँडेका व्यक्ति मात्रै हुन् भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष हो,’ पाठकलले भने ।

९ गते राति निस्किएपछि ढकाल ती व्यक्तिसँग सिपाडोलको एउटा पसलमा छिरेका थिए । उक्त पसलमा सडकमा मागेर हिँड्ने एक जना केटा र एक केटी पनि छिरेका थिए । पछि ती दुई जना पसलबाट बाहिर निस्केको देखिन्छ ।  ‘त्यहाँको सिसिटिभी फुटेज हेर्दा ढकाल र फरार व्यक्ति गोठतिर उकालो लागेको देखिन्छ,’ पाठकले भने ।

‘ढकालको हत्या भएको कुरामा दुविधा छैन । गोठमा छिरेपछि ती व्यक्तिले इँटा-ढुंगा जे-जे भेटे, त्यसैले टाउकोमा हिर्काएर हत्या गरेका हुन्,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले हत्या भएको देखाइसकेको छ ।’

के एकै जना व्यक्तिले नै ढकालको हत्या गरेको हो? भन्ने प्रश्नमा डिएसपी पाठक घटनाको अनुसन्धानले त्यही अवस्था देखिएको बताउँछन् । ती व्यक्तिसँग ढकालको के ‘रिसिइबी’ थियो भन्ने अनुसन्धानकै पाटो छ । जबसम्म फरार व्यक्ति पक्राउ पर्दैनन्, तबसम्म घटनाको पर्दा नउघ्रिने डिएसपी पाठकले बताए । ‘हामी फरार व्यक्तिलाई खोजी गरिरहेका छौं, हाम्रो अनुसन्धान टोलीले चाँडै पक्राउ गर्छ भन्ने आशा राखौं,’ उनले भने ।

ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो भन्ने खुलेको छैन । ‘उनीहरूबीच के कस्तो सम्बन्ध थियो भन्ने अभियुक्त पक्राउपछि खुल्छ,’ उनले भने ।

यसरी भएको थियो हत्या

तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए । उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए । ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन् । ढकालकी एक जना छोरी थिइन्। यही फागुन ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किएका थिए । उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो । उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन ।

डिएसपी पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन् । त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट हुन्छ ।

अनुसन्धानका सिलसिलामा वृत्त जगातीले त्यहाँ भेट भएका अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । ती दुई जनामध्ये एक जना केटा र अर्की केटी थिए । ‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन्,’ पाठकले भने ।

उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ । त्यसपछि ती दुई व्यक्ति (केटा-केटी) छुट्टिन्छन् । ‘गोठ भएतिर ढकाल र अहिले हामीले पत्ता लगाएर खोजी गरिरहेका व्यक्ति मात्रै गएका देखिन्छन्,’ पाठकले भने ।

ती दुबै (केटा-केटी)ले मोबाइल फोन बोक्दैनन्। हत्या गर्ने व्यक्तिसँग मोबाइल नभएको देखिएको पाठकले बताए । हत्या आकस्मिक हो वा पहिलेदेखि बनाइएको योजनाअनुसार हो भन्ने खुलेको छैन ।

जब तीन जना छुट्टिन्छन्, त्यसपछि हत्या गर्नेले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए । ‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने ।

त्यसलगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको थियो । गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए । मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए । खोजीका लागि वृत्त जगातीमा निवेदन दिए ।

रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्‍यो । अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो ।

फरार भएका व्यक्तिले अफ गरेर ढकालको मोबाइलसमेत लगेका छन् । ‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने ।