राष्ट्रियसभा निर्वाचनलगत्तै गठबन्धन तोडिने

राष्ट्रियसभा निर्वाचनलगत्तै गठबन्धन तोडिने



सहयात्रीलाई सत्ता हस्तान्तरण गर्नुभन्दा १० महिना अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन तोड्ने तयारी गरेका छन् । के निहुँ पाउँ कनिका बोकाउ भन्ने लोकक्तिझै राष्ट्रियसभा निर्वाचन र कांग्रेस महासमिति बैठकलाई आधार बनाएर प्रधानमन्त्री दाहाल राजनीतिलाई पुस १० अघिको अवस्थामा फर्किने तयारी गरेका हुन् ।

गठबन्धन टुटेपछिको परिदृश्यबारे नेपाली कांग्रेसभित्र छलफल भइसकेको छ । यस विषयमा सभापति देउवाले पार्टी उपसभापतिद्वय र महामन्त्रीद्वयसँग छलफल पनि गरिसकेका छन् । सबै सुम्पिएर भए पनि गठबन्धन बचाउनुपर्छ भन्ने छलफलको निष्कर्ष थियो ।

बिहीबार साँझको छलफलपछि गठबन्धन जोगाउन कांग्रेस शीर्ष नेताहरु हारगुहार गरेर लागिरहेका छन् । चितवन पुगेर कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिले गठबन्धन टुट्न लागेको संकेत गर्छ । पुस १० अगाडि एमाले गठबन्धन टुट्ने बेलामा नेताहरुले यस्तै अभिव्यक्ति दिएका थिए ।

माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुनले गठबन्धन फेर्नुपर्ने दुईवटा आधार प्रस्तुत गरेका छन् । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा भएको धोका र कांग्रेस महासमिति बैठकमा प्रस्तुत भएका तीनवटा प्रस्ताव हुन् । कांग्रेस महामन्त्री गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव र हिन्दू धर्मप्रति कांग्रेसीजनमा बढेको उत्साहलाई माओवादीले नजिकबाट नियालेको वर्षमान पुनको भनाइ छ । महामन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावमा २०८४ को आम निर्वाचनमा अन्य कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने, उपसभापति खड्काले प्रस्तुत गरेको नीति प्रस्तावमा जनयुद्धलाई भ्रमको संज्ञा दिनु र राजावादीलाई पृष्ठपोषण गर्ने गरी कांग्रेसमा हिन्दू धर्मप्रति देखिएको उत्साहले माओवादीलाई जस्काएको नेता पुनको भनाइ छ ।

शुक्रबार चितवनमा पनि प्रधानमन्त्री दाहालले काँध फेर्न लागेको परिदृश्य देखियो । चितवन भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा सहभागी हुन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाएको व्यवहारले वर्तमान सत्ता गठबन्धन टुटदैछ भन्ने संकेत गरेको छ । माधवकुमार नेपाल सहभागी कार्यक्रममा सितिमिति नजाने अध्यक्ष ओली चितवनको कार्यक्रममा सहभागी भए । उनले प्रधानमन्त्री दाहालसँग मात्र हात मिलाए ।

त्यसभन्दा अगाडि शुक्रबार बिहान पुस्तक तथा स्टेशनरी प्रकाशनसम्बन्धी कार्यक्रममा व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताएका थिए । यसले पनि माओवादी अध्यक्ष पुस १० अगाडिको गठबन्धनमा फर्किने लगभग तयार रहेको पुष्टि गर्छ ।

कांग्रेस सभापति देउवाले गठबन्धन जोगाउन माओवादीका सबै माग पूरा गर्ने मनस्थिति बनाइसकेको बुझिएको छ । राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने र मन्त्री फेरबलमा कांग्रेस बाधक नबन्ने सन्देश बोकेर बालुवाटार छिरेका ज्ञानेन्द्र कार्कीसमेत रातोमुख लगाएर फर्किएका छन् । रक्षामन्त्री तथा कांग्रेस उपसभापति खड्काले पनि प्रधानमन्त्रीलाई पटक पटक भेट गरेका छन् । तर प्रधानमन्त्रीको मुड परिवर्तन गराउन सफल भएका छैनन् । यही अपजसमा कांग्रेसलाई कनिका बोकाउन सकियो भने बाँकी कार्यकाल सुरक्षित रहने माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले निष्कर्ष निकालेको छ ।

पुस १० अघिको परिस्थितिमा राजनीति फर्कियो भने सत्ताको अभावमा पानी बिनाको माछाजस्तै छटपटाएको एमालेलाई राहत पुग्ने छ । बाह्यशक्तिले रोक्यो भने मात्र वर्तमान सत्ता गठबन्धनलाई जोगिन सक्छ, नत्र राष्ट्रिय सभा अध्यक्षको निर्वाचन लगत्तै प्रधानमन्त्री दाहालले गठबन्धनको काँध फेरेर पुस १० अघिको अवस्थामा राजनीति फर्किउन सक्ने विश्लेषण गरिएको छ ।