सात पुस्ता सेनाको सैनिक दिवस

सात पुस्ता सेनाको सैनिक दिवस



आज सेना दिवस । प्राकृतिक पात्रोमा बर्ष भरिकै उत्तम दिन । न जाडो न गर्मी । उत्तरतर्फ तिब्बतदेखि ब्यापारी अतिथिहरु घोडा, राडीपाखी, जडिबुटी ब्यापार भर्न आउने समय । दक्षिण र बिश्वभरिबाट पशुपति दर्शन गर्न आउने लाखौं भक्तजनहरु राजधानीमा जम्मा हुने दिन । उत्तर र दक्षिण तथा बिश्वभरिबाट आउने अतिथिगण र हिउँदका फुर्सदिला राष्ट्रबासीहरुलाई टुंडिखेलमा आमन्त्रण गरी सैनिक अतिथ्यता, कला, संस्कृति प्रदर्शन गर्ने दिन । छिमेकीहरुलाई प्रेम सद्भाव शुभेच्छा दर्शाएर सु–संस्कृति र सभ्यता प्रदर्शन गर्दै सुरक्षा आश्वस्तता प्रकट गर्ने दिन । राष्ट्रवासीलाई शान्ति सुरक्षा, विकास र समृद्धि दिन कटिवद्ध सारा जनताको साझा सेना भनेर आश्वस्त पार्ने दिन ।

पंक्तिकारको ७ सैनिक पुस्तामा सिपाही हजुरबुबाले घोडेजात्रामा सेना दिवस मनाउनु हुन्थ्यो । हुद्धा बुबाको सैनिक जीवनमा सैनिक दिवस महाशिवरात्रीमा मनाउन शुरु भइसकेको थियो । पंक्तिकारले ३४ बर्ष यो दिवस बुबाले जस्तै महाशिवरात्रीमा मनाउने अवसर पायो । ८७ बर्षीय बुबा र म आज टुंडिखेलमा उपस्थित भएर यो दिवसलाई नियालिरहेका थियौं । बुबाका छोरा नाती टुंडिखेलमा परेड खेलिरहेका थिए । प्रमुख अतिथिको प्रतीक्षा अवधिभर हामीले ईतिहास, वर्तमान र भबिष्यको समीक्षा ग¥यौं । पिताले गौरवशाली ईतिहास स्मरण र ब्याख्या गरिदिनुभयो । पंक्तिकारले वर्तमानको बर्णन गरे । परेडमा सामेल सन्तान हिजो हामी जस्तै उज्ज्वल भविष्यको मीठो सपना देखिरहेका थिए । ३ सन्तानका बीच धारबाट सेना दिवस हेर्दै लिपिबद्ध गरेको यो आलेख सेना दिवसलाई समर्पण गरेको छु ।

प्रकृतिको बर्णन
बाँके राष्ट्रिय निकुञ्जको संरक्षण प्रशिक्षण समापन गरेर हिजो साँझ नेपालगञ्ज–काठमाडौं उडान भरेर आउँदा सेताम्य हिमाल हाँसेर चम्किरहेका थिए । पालुवा हालेको हरियो बन नेपालको धन बोकेको हरियाली महाभारत, चुरे र भित्री मधेसको हरित समृद्धि नमूना व्यवस्थापनको प्रतीक्षामा प्रार्थनारत थियो । लहलह तोरी र गहुँले पंहेलपुर मधेस अमूल्य सुन जस्तै टल्किरहेको थियो । शिवरात्रीको पूर्व सन्ध्यामा परेको बर्षातले नुहाइदिएको नेपालआमाको मेरो बर्णन सुनेर पिताले थप्नु भयो–
“शिवरात्रीमा बर्षेनी पानी पर्दछ र पृथ्वीलाई सफा पारिदिन्छ । किसान खुशी । डढेलो नियन्त्रण हुँदा बन जंगल र वन्यजन्तु औधी खुशी । प्रकृतिको अनुपम चक्र र हामीलाई बरदान ।”

धर्म र ईश्वरको बर्णन
पिताको बिश्वास थियो– श्रृष्टि सत्य–असत्य संहारका स्वरुप भगवान महादेव हुन् । संहारका लागि महादेवले खडा गरेको सेना नै वर्तमान सेनाको ईतिहास हो । पुत्र गणेश बिशाल सेनाका गणपति थिए ।

अझ रस्सियन स्वामी पत्रिदासको गीताको ब्याख्यान र जिसस् क्राइष्टका पिता श्रीकृष्ण भगवान भन्ने स्पष्टोक्ति सुनेर पितालाई सबै धर्मको ईश्वर एउटै हुन् र लक्ष्य मानव रक्षा कल्याण धर्म हो भन्ने अटल बिश्वास थियो ।

मैले पिताको सुनाई र बुझाईलाई हुबहु समर्थन गर्दै थपें –

म प्रकृतिप्रेमीका लागि ईश्वर भनेको प्रकृतिको बिराट स्वरुप हो । त्रिशुल भनेको कैलास सगरमाथा र कञ्चनजंघा चुचुरोको सुन्दर हिमालय पर्बत; जसलाई सांस्कृतिक एकताको डम्बरुले बाँधेर राखेको छ ।

राजनीतिक सांस्कृतिक एकताका आ–आफ्नै वर्णन
वर्तमानको बर्णन गर्दै पितालाई सुनाए– गत बर्ष लोपोन्मुख प्राचीन नेपालका ५५० मौलिक मादल बजाएर नेपाली सेनाले बिश्व कीर्तिमानको सम्मान र प्रमाणपत्र पायो । यो बर्ष म्याग्दीस्थित मगर समुदायको प्राचीन र बिशिष्ट थाल बाजाको कला प्रदर्शन गरेर बिश्व कीर्तिमान हासिल गरेको छ । राज्यलाई आर्थिक भार नपर्ने तर मौलिक संस्कृतिको रक्षा गर्ने सैनिक ईम्प्रोभाईजेसनको कति बिशिष्ट सिर्जना र प्रतिभा ।

राजनीतिक एकीकरण र एकता नेपाली सेनाको बहसभित्रको कुरा भएन । तर पनि गौरवशाली राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरण र सम्मान गरेर नेपाली सेनाले राष्ट्रिय एकता अपरिहार्य भएको र राष्ट्रिय एकताको सूत्रमा सबैलाई एकताबद्ध हुन नम्र र भद्र प्रत्यक्ष अप्रत्यक्ष अनुनय बिनय गर्दै आएको छ ।

राजनीतिक एकताको डोरी चुँडिएर छिन्नभिन्न र बिग्रहमाथि बिग्रह भएपछि नेपाली सेनाले सारा नेपालीहरुलाई साँस्कृतिक एकताको मालामा उन्ने संकल्प लिएको छ र त्यसको प्रतिबिम्ब आज अगाडि टुंडिखेलमा देख्न सकिन्छ ।

पिताले सगर्व थप्नुभयो –

“ईतिहास, धर्म र सम्पदाको रक्षा परापूर्वकालदेखि नेपाली सेनाले गर्दै आएको छ । प्रकृतिको रक्षा भन्नै परेन । बिपद् र महामारीमा सेनाले लगाएको गुन सम्झिदा नरुने को होला ? यो मुलुक स्वतन्त्र सुन्दर र सार्बभौम राख्न बलिदानी दिने ती सयौं बीर सैनिकहरुलाई हेलिकोप्टरले पुष्प बृष्टि गरेर सम्मान गरेको होला ।” पिताले थप्दै जानुभयो ।

सैनिक कुटनीति झल्किने दिन
मैले पितालाई सुनाउदै गए –
गत बर्ष भारतीय र बेलायती ब्याण्डले संयुक्तरुपमा सैनिक दिवस मनाए । यो ऐतिहासिक दिवसलाई सम्मान गरे । यो बर्ष यो दिवसमा सामेल हुन अमेरिकन सैनिक ब्याण्ड आईपुगेको छ ।

सैनिकमञ्चमा आजका दिन विदेशी राजदूतहरु, सैनिक सहचारीहरु उपस्थित भएर हर्षोल्लासपूर्वक यो साझा दिवस मनाउँछन् । राननीतिज्ञ, सरकार, प्रशासक, प्राबिधिक, न्यायाधीश अन्य सुरक्षा निकायहरु सबै एउटै कुटनीतिक धागोमा उनिन्छन् र सुन्दर माला बनाउँछन् ।

राष्ट्रिय कुटनीतिमा ग्रहण लागेको बेला सैनिक कुटनीतिले ग्रहण फटाउन योगदान गर्दछ । नेपालमा सैनिक कुटनीतिको बिशेष र उल्लेखनीय महत्व छ । याने कि नेपाली सेनामाथि अपार अन्तर्राष्ट्रिय भरोसा र बिश्वास छ । त्यसको प्रमुख कारण संयुक्त राष्ट्र संघमा नेपाली सेनाको अविच्छिन्न ६६ बर्ष लामो योगदान र ठूलो बलिदानीसहितको इमान्दार त्याग हो ।

नेपाली सेनाको अभिवाकत्व र छत्रछायामा राष्ट्रिय सेवा दलले समेत राष्ट्रियता र राष्ट्रिय कुटनीति सम्बद्र्धन प्रबद्र्धनमा उल्लेखनीय भूमिका निभाउदै आएको छ । राष्ट्रिय सेवा दलको फुर्तिलो गीत संगीत नृत्यले स्वर्गभन्दा प्यारो मातृभूमिलाई आत्मसात् गरेको प्रष्टै देखिन्छ ।

सैनिक दिवसको पूर्वसन्ध्यामा १८ देशका ११२५ जना सैनिकहरुको बहुराष्ट्रिय संयुक्त अभ्यास शान्ति प्रयासमा उपस्थित बिदेशी कुटनीतिज्ञहरुले शान्ति स्थापनार्थ नेपालको योगदानको उच्च मूल्यांकन गर्दै भनेका थिए–

“नेपालले अन्तराष्ट्रिय शान्तिदूत भएर मात्र होइन अव नेतृत्व लिएर शान्ति कार्यको अगुवाई गर्ने क्षमता राख्दछ ।”

सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएयता १९५८ देखि ६६ बर्षमा नेपालले ४ महादेशका ४१ राष्ट्रमा शान्ति स्थापनार्थ १,६७,००० शान्ति सैनिक खटाएर बिश्व शान्ति स्थापनामा योगदान गरिसकेको छ । गत नोभेम्बरदेखि सानो मुलुक नेपाल शान्ति सैनिक र शान्ति महिला सैनिक खटाउनेमा विश्वकै पहिलो ठूलो मुलक भएको छ ।

सैनिक खेलकुद र खेलाडीको मालाले नेपाललाई मजबुत बनाएको छ ।

पिताको एकता माला
पिताले गर्व गर्दै भन्नुभयो –

“हालै सम्पन्न भुतपूर्व सैनिक सम्मेलनले नेपालभरि बसोबास गर्ने भुपूहरुलाई एउटै मालामा उनेको छ । कल्याणकारी कार्यक्रमअन्तर्गत स्कूल कलेज, अस्पताल, कृषि, उद्यममार्फत् आश्रित लाखौं परिवारलाई एकताको मालामा उनेको छ र राष्ट्रिय ढुकुटीलाई केही राहत बिश्राम दिएको छ । उत्तर दक्षिण सडक निर्माण गरेर सामरिक, ब्यापारिक, आर्थिक, सामाजिक मालामा यो क्षेत्रलाई जोड्ने चाहना राखेको छ । सबै परिवर्तनलाई सहश्र स्वीकारेर राजनीतिक एकताको रुखमा समृद्धिको फल लाग्ने सपना पालेर बसेको छ । बिदेशिने लाखौं युवाहरुलाई रोजगारको मालामा गाँसेर राष्ट्रभक्ति र राष्ट्र सेवामा समाहित गरेको छ ।
मैले ताली पड्काएर पिताको श्रद्धा र आस्थालाई सम्मान गरें ।

बाउ छोराका साझा जिज्ञाशा र प्रार्थना
बुबाको जिज्ञाशा जायज थियो । हीरा सेना भएको देशले सम्बृद्धिको फल किन फलाउन सकेन ? पौरखी र वीरहरुको देशमा समृद्धिको फल उहिले फलिसक्नपर्ने थियो । दुःख कष्टका दिन भागिसक्नु पर्ने थियो ।

भुतपूर्वक सैनिकहरुको आँखा कान खोलिनु प-यो । राजनीतिक, कुटनीतिक, सामाजिक आर्थिक, उन्नतिमा सक्रिय सहभागी भएर मातृभूमि टल्काउन चम्काउन बिलम्ब भयो । अब चेत् खुलोस् । माटोले मागेको माटोको भाषा र ईशारा सबैले बुझून् ।

राष्ट्र, राष्ट्रबासी र बिश्व शान्तिमा समर्पित त्यागी सेनालाई किन सरकारले भरोसा गर्दैन र काखमा राखेर छुरी हानिरहन्छ ? कहाँ र कोबाट सञ्चालित छ हाम्रो सरकार ?

यो जटिल र संवेदनशील परिस्थितिमा सेना झन् बलियो होस् । सेनाको बल भनेको प्रतिबद्ध नेतृत्व, उच्च अनुशासन, हौसला र मनोबल हो । त्यो कहिल्यै नफुटोस् नघटोस् । नझुकोस् ।

सेनालाई राजनीति रङ्गको बाछिटा नपरोस् । अन्य सुरक्षा निकायहरु पनि राजनीतिक ग्रहणबाट छिटो मुक्त हुन् ।

यो सुन्दर राष्ट्र र राष्ट्रबासी, राष्ट्रिय संस्कृति र प्रकृति, ईतिहास र सम्पदाको रक्षा कल्याण सम्मान गर्न नेपाली सेनाले संधै साहसिक, प्रतिबद्ध र त्यागी सैनिक नेतृत्व पाइरहोस् ।

राष्ट्रिय सांस्कृतिक मालामा सबैलाई समेटने बिश्वभरिका नेपालीहरुको आस्थाको साझा धरोहर नेपाली सेनाले समयानुकूल आन्तरिक परिवर्तन र सुधार गरेर आफूलाई एकढिक्का राख्न सकोस् ।

अन्त्यमा बुबाले भन्नुभयो– ‘हाम्रा ७ पुस्ताका सानदार रोजगार, शिक्षादीक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुरक्षा र आत्मसम्मानको त्यो अपूर्व अवसरको ऋण हामीले यो विराट संगठनलाई कहिले कसरी तिरिसक्नु होला ? तिमीहरुले नुनको सोझो गर्नु । तिर्दै जानु । र, भात खाने तामाको थालीमा फोहोर नगर्नु । अर्को ७ पुस्तालाई पाप लाग्ने छ ।

अभ्याससहित सयौं प्याराजम्प तर सकुशल अवतरण । हजारौं बन्दुकको गोली फायर । हजारौ पाइलाको एउटै लय र चाल । एउटै आवाज । सेनाको अनुशासन र ड्रिल भनेपछि आमा र म हुरुक्कै हुन्छौं ।”

बुबाले प्रार्थना गर्नुभयो– सरकारसँग निराश जनसमुदायको सेनासँग धेरै अपेक्षा छ । हीरा सेनाको सरकार छिटो हीरा होस र सुन्दर शान्त विशाल मुलुकलाई हीरामा रुपान्तरण गरोस् ।

हाम्रो मातृ संगठन नेपाली सेना भारतीय, बृटिश, नेपालीलगायत संसारभरिका सबै नेपाली सैनिकहरु तथा गैरसैनिक नेपाली जनताको आस्था र बिश्वासको धरोहर भई सगरमाथा जस्तो अटल अमर रहिरहन सकोस् । पिताका ३ पुस्ता सामेल भएर जोडदार पुका-यौं –

नेपाल, नेपाली जनता र सबै देशका नेपाली सेनाको जय जय जय होस् ।