नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल अविश्वसनीय, अवसरवाद र बेइमान हुन भन्ने स्पष्ट भएकै विषय हो । यसलाई प्रष्ट्याउन थप अध्ययन, अनुसन्धान र विश्लेषण आवश्यक पर्दैन । समकालीन अन्य पार्टीका पदाधिकारी पनि कम बेइमान छैनन । बचाउ गर्न सकिने आधार बनाएका छैनन् । धेरैथोरै तलमाथि होला, न्यूनतम इमान्दारिता कसैले पनि प्रस्तुत गर्न सकेका छैनन् । यी दाहाल बालुवाटारमा पहिलो पटक सार्वजनिक भएर अभिव्यक्ति दिँदा नै विवादित भएका हुन् । भारतीय दूतावासबाट विस्केको श्रब्यदृश्य प्रशारण हुँदा आफू एम्बुसमा परेको प्रष्टिकारण दिएकै हुन् । धेरै पटक दूतावास छिरेको यो पटक पत्रकारले पत्ता लगाएको भन्ने यिनै दाहाल हुन् ।
यिनले गिरिजाप्रसाद कोइरालालाई पनि पहिले राष्ट्रपति बन्न बनाउन धोका दिएकै हुन् । शान्ति प्रकृयामा आउने विचित्रै एमालेको हाराहारीमा बिमा प्रतिस्पर्धा (निर्वाचन) संसदमा प्रतिनिधित्व गराउने गिरिजाप्रसाद कोइरालालाई धोका दिने दाहालले अरुलाई नदिने भन्ने सवाल नै भएन । पार्टीभित्रै बैद्य, बाबुराम, विप्लप, सीपी गजुरेलगायतका सहकर्मीहरुलाई धोका दिन सक्ने दाहालले देउवा, ओली आदि इत्यादिलाई घुमाउनु अस्वभाविक हो । उनी आफ्नो बेइमानी कदमलाई ‘उथलपुथल’ भनिदिन्छन् र प्रतिक्रियावादीलाई ‘लात्तिले’ हानेर निस्कने ‘सभ्य’ परिचय पनि प्रधानमन्त्रीकै कुर्सीबाट दिन्छन् ।
देउवालगायतसँग राम्रो सम्बन्ध रहेको तर परिणाम दिन गठबन्धन फेरेको हास्यास्पद तर्क पनि गर्छन् । दाहाललगायतका व्यक्तिहरुले दिएको परिणाम जनताले राम्रैसँग अनुभूत गरेका छन् । छोराछोरीदेखि पार्टीका लगभग सबै सदस्य दलाली र तस्करीमा संलग्न छन् । तस्कर, माफिया, ठेकेदार र डनसँगको सम्बन्ध र कारोबार हेर्दा दाहाल परिणाम निकाल्न नै एमालेलगायतका दलसँग लहसिएको देखाउँछ । काठमाडौं वरिपरीका डाडाहरुमा सयौं रोपनी जग्गा पुष्पकमल दाहालको रहेको कुरा जग्गा कारोबारीहरु निर्धक्क सुनाउँछन् ।
व्यापारी, ठेकेदार र डनहरुको साझेदारीमा प्राकृतिक श्रोत र साधनमाथि निर्मम दोहन भएको जानकारहरु बताउँछन् । काठमाडौं आसपासका ठाउँहरुमा घुम्न निस्कन साथ यो फलाना व्यापारी, विचौलिया, ठेकेदार र डनले प्रचण्डको साझेदारीमा गरेको प्लटिङ, सञ्चालन गरेको व्यवसाय, खरिद गरेको जग्गा भन्ने सुनाउँछन् । बस्ने रिर्सोटदेखि प्लटिङको नाममा गरिएको विनास हेर्दा काठमाडौं धेरै सुरक्षित छ भन्ने लाग्दैन । यस्ता मानिसले जनताको आशा, भरोसा र चाहना बमोजिमको परिणाम दिन देउवासँगको सहकार्य र गठबन्धन तोडेको अभिव्यक्ति सार्वजनिक गर्दा नागरिकले पत्याए होलान् ?
तेस्रो दलले प्रधानमन्त्री भइराख्ने चाहाना राख्नु नै बेइमानी हो । यसलाई अन्य व्यवहारसँग तुलना गर्न नै आवश्यक छैन । पहिलो दललाई सहयोग गरेर सरकारमा सहभागी हुनुपर्नेमा च्याखे थापेर सत्तामा बसिरहने सोच नै खराब हो । यो खराबीलाई कहिले कांग्रेसले कहिले एमालेले साथ दिनु महाखराबी हो ।
संसदको बनावटले दाहाल सत्ता र स्वार्थ राजनीतिको बाध्यात्मक पात्र र प्रवृत्ति होलान् । कांग्रेस र एमालेसँग अनुकूलताका आधारमा सहकार्य गर्ने उनको अवसरवादी चरित्र हो । तेस्रो दलले प्रधानमन्त्री भइराख्ने चाहाना राख्नु नै बेइमानी हो । यसलाई अन्य व्यवहारसँग तुलना गर्न नै आवश्यक छैन । पहिलो दललाई सहयोग गरेर सरकारमा सहभागी हुनुपर्नेमा च्याखे थापेर सत्तामा बसिरहने सोच नै खराब हो । यो खराबीलाई कहिले कांग्रेसले कहिले एमालेले साथ दिनु महाखराबी हो । आफ्नो पार्टीका अधिकांश मानिसहरु धन्दापानीमा संलग्न रहेको देखिदेखि अरुलाई औंल्याउने दाहालको चरित्र नै अस्थिर र अविश्वसनीय छ । कहिले उत्तरको छिमेकीको साथमा त कहिले दक्षिणको छिमेकीको साथमा रहेर देशको सन्तुलित सम्बन्ध धमिल्याउने काम पुष्पकमल दाहालबाट निरन्तर हुँदै आएको छ । व्यक्तिगत कुराकानीमा पनि उनीहरुले दाहाललाई अति अविश्वनीय भन्ने गरेका छन् । कम्युनिष्ट पार्टीको सदस्य भएको चरित्र कहिकतै देखिन देखाउन नसके पनि त्यसलाई निकटताको आधार बनाउने रणनीति केही वर्षदेखि नेपालका कम्युनिष्ट नामधारीहरुले अपनाउँदै आएका छन् । यो पटक पनि त्यही तुरुप प्रयोग भएको जानकारहरु बताउँछन् । त्यसमा स्वतन्त्र भन्ने तर अति पराधीन पार्टीको पनि बलियो साथ देखियो ।
चरित्र र गन्तव्य लगभग मिल्दोजुल्दो भएपछि गठबन्धन बन्दो रहेछ भन्ने उदाहरण दाहाल, ओली र रवि लामिछानेहरुले राम्रोसँग प्रस्तुत गरेका छन् । ज्यादै महँगो भड्किलो र भ्रष्ट जीवनशैली नै यिनीहरुको मिलनविन्दू देखिएको छ । साधारण मानिसको ध्यान खिच्न केही लोकप्रिय तथा कर्णप्रिय शब्दहरु प्रयोग गर्नु तर निश्चित नाफाखोर घरानियाबाट परिचालित हुन यी पात्रहरुको खास विशेषता रहेको छ । सत्ता गठबन्धन भत्काउने र बनाउने कार्यमा पनि यी घरानाहरुले पृष्ठभूमि तयार बनाउने गर्छन् भन्ने सत्य नै हो कि जस्तो देखिन्छ । व्यापारी र विचौलियाहरु यस्तो समयमा व्यापक चलखेल गर्छन र आफन्तहरुलाई सत्तामा राखेर स्वार्थ पूरा गर्छन् । यस्तो कर्ममा नाजायज किसिमले बनाएको धनराशी खर्च भएको तथ्य स्वार्थ बाझिएको समयमा सार्वजनिक हुने गरेको छ ।
राजनीतिक दलका स्वार्थी तथा अवसरवादीहरुको यस्तो चरित्र, व्यवहार र प्रस्तुतिले आम मानिसलाई थप निराश बनाएको छ । आशा र विश्वास जनाउने समयमा हुने यस खालको गतिविधिहरुले व्यवस्थामाथि नै वितृष्णा पैदा गरेको छ । जनताको अपार साथ, सहयोग एवम् समर्थनमा प्राप्त गरेको उपलब्धी निरर्थक हुने र लाग्ने परिस्थिति बन्दै गएको छ । सामान्य मानिसले यस्तो फेरबदललाई स्वीकार गरेकै छैन । आफ्नो निहित स्वार्थ पूरा गर्न यी सबै हर्कत भएको निष्कर्ष निकालेको छ । केही थान व्यक्तिहरुलाई मन्त्रीको जागीर प्राप्त भएको भन्दा बढी केही होइन भन्ने भाष्य बनेको छ । साँच्चै परिणाम दिने हो भने माओेवादी, एमाले र रवि लामिछानेका नेता कार्यकर्ताहरु जो सुनतस्करीदेखि सहकारी ठगीसम्ममा संलग्न र आरोपित छन् । उनीहरुलाई कारबाहीको प्रकृयामा ल्याउन सक्नुपर्छ । अविलम्ब मुद्दा चलाउनु पर्छ र जिम्मेवारीबाट मुक्त गर्नुपर्छ । सहकारी ठगीमा उजुरी परेका रवि लामिछानेलाई रोजेको गृहमन्त्रालय उपहार दिएर कस्तो परिणाम नि चाहनु भएको हो प्रधानमन्त्रीज्यू ?
आम नागरिक अहिले जति धेरै निराश सम्भवतः कहिल्यै भएका थिएनन होला । आफैले बनाएको सरकार, ल्याएको व्यवस्था, पत्याएको र निर्वाचित गरेका प्रतिनिधि यति बेइमान, भ्रष्ट र अनुत्तरदायी बन्दा गुनासो कहाँ गर्ने, कसलाई सुनाउने ? रुपान्तरण र चमत्कारका नाराहरु उछालेर जनतालाई धोका दिने नेतृत्वले शासन प्रणालीको हुर्मत लिएको छ । मतदाताका बीचमा कसरी जाने ? कांग्रेससँगको सहकार्य र गठबन्धन किन तोडियोभन्दा के जवाफ दिने ? सँगै प्रचार प्रसारमा गएर निर्वाचित भएका प्रतिनिधिले मतदातालाई कस्तो न्याया दिए त ? कम्तीमा पाँच वर्षसम्मका लागि प्राप्त जनादेशप्रति इमान्दार नहुने हो भने संवैधानिक एवम् कानुनी वैधानिकतामाथि पनि प्रश्न उठ्दैन र ? कांग्रेस, माओवादी, समाजवादी, मधेशवादीहरु बीचको गठबन्धन जनादेशद्वारा अनुमोदित छ । जनादेशको घोर अपमान र उल्लंघन भएन ? बिना आधार र कारण जनादेश तोड्न पाइन्छ ? निर्वाचन अघिको गठबन्धन भएकाले माओवादी र मधेशवादीहरुले तोडेको सम्झौताले जनादेश भंग गरेको छ । जनताको निर्णय सर्वोपरी हुने भएकाले यो संवैधानिक र कानुनी आधारमा मात्र जीवित देखिएको फेरबदल मतादेशको धरातलमा भंग भएको छ । यस अर्थमा निर्वाचन अघि गठबन्धन गरी निर्वाचित प्रतिनिधिहरु नैतिकरुपमा पराजित देखिन्छन् ।
प्रतिक्रिया