अस्ट्रेलियामा विमानमा समस्या आउँदा बिरामी परेका १२ यात्री अस्पताल भर्ना

अस्ट्रेलियामा विमानमा समस्या आउँदा बिरामी परेका १२ यात्री अस्पताल भर्ना



विलिङटन । सिड्नीबाट अकल्यान्डका निम्ति उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा बिरामी परेका १२ यात्रीलाई सोमबार अस्पतालमा भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले एएफपीलाई जानकारी दिएका छन् ।

तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण त्यसमा कम्पन हुँदा कम्तीमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । यात्रीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार, विमानको उचाइ एक्कासि गुमेको र सिटबेल्ट नभएकाहरू सिटमा उफ्रेका थिए ।

प्रत्यक्षदर्शी यात्रीले रेडियो नेटवर्क आरएनजेडसँग भने, “सिटबेल्ट नलगाएका कारण मानिस सिटमा उफ्रिएका थिए ।” आवाज थरथर काँपिरहेको अवस्थामा उनले भने, “केही मानिस गम्भीर घाइते भएका छन् । यात्री साँच्चै डराएका थिए ।”

चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताएका छन् । “विमान अकल्यान्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,” उनले भने । घटनाको कारण खुल्न सकेको छैन ।

सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्यान्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताए । घाइतेको उपचारका निम्ति एक दर्जनभन्दा बढी एम्बुलेन्स र अरू मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो ।

क्याम्पबेलले भने, “हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यमदेखि सामान्य अवस्थामा थिए ।”

बिरामी सबैजनालाई अस्पताल पुर्‍याइएको उनले बताए । लाटामका अनुसार, बोइङ ७८७ ड्रिमलाइनर विमानमा उडानका क्रममा समस्या आएको हो ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरू दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याको शृंखलाको सामना गर्नुपरेको छ । एयरलाइन्सले भनेको छ, “यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।”