सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन



काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । आयोगले बिहीबार गृह मन्त्रालयमा पुगेर प्रतिवेदन बुझाएको हाे ।

सरकारले गत असोज १५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले झन्डै ५ महिना लगाएर अध्ययन गरेको थियो ।

विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो । त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण लगायत गरेर केही महत्वपूर्ण सिफारिसहरु सरकारलाई गरेको संयोजक आचार्यले बताए । उनले विषयवस्तुहरुबारे भने खुलाएनन् ।

आयोगका सदस्यहरुले विभिन्न सीमा नाकामा गएर स्थलगत अध्ययन समेत गरेको थियो ।