भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ ।
को१ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताए । जिप सडकबाट करिब तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।
ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया