विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ : सीआईबी

विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ : सीआईबी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुधबार सभामुखलाई पत्र लेखी सांसद चौधरीमाथि अनुसन्धान भइरहेकाे बताएकाे हाे ।

सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

‘बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ ।

यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अजित नारायणसिंह थापासमेत भए‌को बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो ।