रविको ठगी आरोपमा दाहाल–ओली रक्षा कवज

रविको ठगी आरोपमा दाहाल–ओली रक्षा कवज



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला न्वारानदेखिको बल लगाएर सहकारी ठगी आरोपित उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चोख्याउन लागिपरेका छन् ।

ठगीका पर्याप्त प्रमाण छताछुल्ल भएको र उजुरी समेत परेपछि संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिनको लागि संसदीय समिति गठनको माग गरिरहेको छ । यद्यपी, कांग्रेसको मागलाई बेवास्ता गरेर आरोपित गृहमन्त्री लामिछानेलाई चोख्याउन प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली लागेको छर्लङ्गै छ । आरोप लागेको व्यक्ति पदमा बस्न हुँदैन भनेर छानबिनका लागि प्रतिपक्षी दल कांग्रेसले गरेको मागमा गृहमन्त्री लामिछानेले ‘कांग्रेसले चार वर्षै संसद अबरुद्ध गरोस्’ भन्ने गैह्रजिम्मेवार जवाफ दिएका छन् ।

लामिछानेले कुनै ठगी नगरेको प्रहरीको ब्रिफिङ भएकाले छानबिन गर्नु नपर्ने जवाफ प्रधानमन्त्री दाहालले संसदमा दिए । लामिछानेलाई बद्नाम गर्न कांग्रेसले यस्तो आरोप लगाएको एमाले अध्यक्ष ओलीले कञ्चनपुरको एउटा कार्यक्रममा अभिव्यक्ति दिए ।

लामिछानेलाई बचाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले किन काँध थापे भन्ने प्रश्नको जवाफ सजिलो छ । लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ताबाट बाहिरिने वित्तिकै दाहाल सरकार अल्पमतमा पर्छ । गत फागुन ३० गते दाहाल सरकारले संसदमा तेस्रो पटक विश्वासको मत लिँदा ६ दलले समर्थन गरेका थिए ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा १५७ मत पाए । त्यसमा एमालेको ७६, माओवादी ३२, रास्वपाको २१, जसपा १२, संघीय समाजवादी १०, नागरिक उन्मुक्ति ४ र स्वतन्त्र २ मत समावेश छ । यसबाट रास्वपा २१ मत मात्र झिक्ने हो भने दाहाल सरकारसँग १३६ मतमा सीमित हुन्छ । बहुमतका लागि १३८ मत चाहिन्छ ।

यो परिवेशमा संसदको अंकगणित भएकाले सरकार टिकाउनका लागि पनि गृहमन्त्री लामिछानेलाई बचाउनु प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको बाध्यता भएको राजनीतिक विश्लेषक विन्दुकान्त घिमिरे बताउँछन् । ‘सरकारमा रहेको व्यक्तिमाथि आरोप लागेपछि छानबिनमा सहयोग गर्नुपर्छ’, विश्लेषक घिमिरेले भने, ‘तर यहाँ सरकारमा बसेर प्रमाण नष्ट गर्ने काम भएको छ ।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको तर्क भने बेग्लै छ । नयाँ सरकारलाई सय दिन हनिमुन पिरियडसम्म काम गर्न दिइनु संसदीय अभ्यास हो । तर सरकार गठन भएको एक सातामै मन्त्रीको राजीनामा माग्नु उचित नभएको डा. केसीले बताए । सरकार पुनर्गठन मात्र हो, हनिमुन पहिले मनाइसकेको होइन ? भन्ने ग्लोब नेपालको जिज्ञासामा डा. केसीले भने, ‘कांग्रेस रविमाथि नै खनिनु जायज होइन । उसलाई काम गर्ने अवसर दिइनुपर्छ ।’

त्यसो भए रविविरुद्ध कांग्रेसले लगाएको आरोप झुटा हुन् भन्ने जिज्ञासामा डा. केसीले भने, ‘कांग्रेसको माग ठीक बेठीक मलाई थाहा छैन, त्यो त समयले बताउँला, तर रविलाई काम गर्न दिनुपर्छ भन्ने मेरो भनाइ हो ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेको ठगी प्रकरणमा संसदीय छानबिन आयोग गठन गर्नुपर्ने माग जोडतोडले उठाइरहेका बेला सभामुख देवराज घिमिरे १० दिन संसद स्थगित गरेर शीर्ष राजनीतिक दलका प्रमुख सचेतकसहित स्वीट्जरल्याण्ड भ्रमणमा निस्केका छन् । यो १० दिनको अवधिमा आरोपित लामिछानेले राहतको श्वास लिन्छन् वा प्रमाण नष्ट गरेर आफूलाई सुरक्षित गर्छन् त्यो भने संसद पुनः सुचारु भएपछि मात्रै स्पष्ट हुनेछ ।