प्राकृतिक सौन्दर्यता र जैबिक बिबिधताले भरिपूर पृथ्वीकै अलौकिक सुन्दर मातृभूमिमा सर्बाधिक आकर्षक र पर्यटक लोभ्याउने चामत्कारिक जीब पाटेबाघलाई किन खोरमा थुनेर र निर्मम हत्या गरेर सोत्तर पारिदै छ ?
यो स्कूले बिद्यार्थीहरुले सोधिरहने आजको अहम् प्रश्न हो ।
बाघ बिज्ञ र बाघप्रेमी संरक्षणकर्मीहरुलाई कति पीडा भइरहेको होला । बाघप्रेमी बालबालिकाहरुको बाघ देख्ने सुनौलो भविष्यको आशाको किरणमा कति गहिरो चोट लागेको होला ?
नेपालका बाघ हेर्न पढ्न लेख्न अनलाइन बुकिङ्ग गरेर प्रतीक्षा गरिरहेका बिदेशी अध्येता, अनुसन्धानकर्ता र बाघ पर्यटकहरुको चिन्ता कति चुलिएको होला ?
हिजो बाघ संरक्षण गर्न पुर्खाले जीउ धन अर्पेको र आज त्यही बाघ पर्यटनबाट जीबिकोपार्जन गर्दै आएका सन्तती, नेचर गाईड्, होटल, होमस्टे, बोटे, ड्राईभरहरुको चित्त कति कुंडिएको होला ?
बाघ र बाघको बन तथा वाताबरण संरक्षणमा जीवन समर्पण गर्ने वाताबरण संचारकर्मी साथीहरुको गुनासो र अक्रोसले सीमा नाघेको देखिन्छ नै ।
हालै नवलपरासीमा २ वटा बाघलाई बिष खुवाएर मारियो । हामी संरक्षणकर्मीहरुले छानबिन र अनुसन्धान गरेर सत्य तथ्य र दोषी पत्ता लगाउन जोडदार सुझाव सिफारिस दियौं । पटक्कै सुनुवाई भएन । अहिले बाराको तामागढी साझेदारी बनमा जनताले भेटेको मृत ३ बर्षीय बघिनीको कञ्चटमा गोली लागेको हवाला दिएका छन् कोल्हवी सबडिभिजन बन कार्यालयका बन अधिकृत अब्दुलले । बाघको जुङ्गा, दाँत, पुच्छर चोरी भइसकेको तथ्यले बाघ चोरी सिकारीले मारेको पुष्टि हुन्छ ।
त्यसको लगत्तै अगाडि बाराको कछडिया सामुदायिक बनमा ८ बर्षको मृत भाले बाघलाई बिषादीबाट मृत्यू भएको भनिएको थियो ।
फाल्गुणको दोश्रो साता पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा ४ दिनको अन्तरमा २ भाले र १ पोथी बाघ मृत फेला परेका थिए ।
पर्सा निकुञ्जको खोरमा मृत्यू भएका ठोरीका बाघको बिबरण छुट्टै छ ।
हालैमात्र बारा पर्सामा ८ पाटेबाघको मृत्यू भएको दुखद् खबर छ ।
द्वन्द्वको लगत्तै पाटेबाघ घटेर ४ वटा बाँकी हुँदा पर्साबाट बाघ लोप हुने बिज्ञहरुले भविष्यवाणी गरेका थिए ।
बाघप्रेमी स्थानीय समुदाय र फिल्ड फ्रण्टलाइन संरक्षणकर्मीहरुले जीउ धनको बाजी लगाएर शून्य सिकार हुँदै यो दुर्लभ प्रजातिलाई जगाउदै बढाउदै ४१ वटा पु¥याएका थिए । पर्सा राष्ट्रिय निकुञ्जले द्रुत्तर गतिमा पर्यटक विकासको ढोका खोलिरहेको थियो ।
उता पश्चिम र सुदूर पश्चिममा पाटेबाघको छाला र हड्डीहरु बरामद भइरहेको दुर्भाग्यले बाघको चोरी सिकार र अबैध ब्यापार ब्यापक छ भन्ने दर्शाउदछ । उहिले अग्रजका रगतले आर्जेका दुर्लभ पाटेबाघ भुसुना झै मरिरहेका छन् । र, राज्यलाई तिनको मूल्य भुसुना बराबर नभएको भान हुन्छ । मानौं, राज्य कुम्भकर्णको मस्त निन्द्रामा छ । बनको तिखो काँडाले घोच्दा पनि आँखा नखुल्ने लाटो भाङ्को निन्द्रा जस्तो ।
पंक्तिकार जस्तै आम नेपालीहरुको अहिले बाघ पीडाले भोक निन्द्रा हराएको छ । अनिदो पंक्तिकारले चीर निन्द्राको सरकारलाई पीडाको काँडाले घोचेर झल्यास्स ब्युझाउन बाध्य भइ यो आलेख लेखेको छु ।
ईतिहासलाई हेर्दा
उहिले एउटा बाघको मृत्यू राजदरबारलाई छिटो साधनद्वारा जाहेरी हुन्थ्यो । राजा पिर र पीडाले छटपटाउदथे । छाक् छाड्दथे ।
निकुञ्ज बिभागका डिजि पैदल यात्रा गरेर जाँचबुझलाई चितवन फिल्ड पुग्दथे । पछि हात्ती र साइकलको मद्दतले यात्रा सहज भएको थियो ।
१५ बर्ष अगाडि म निर्देशक कार्यालयको जिप नचढेर कुलेखानी हुँदै छिटो साधन निजी मोटरसाइकल चढेर मृत बाघको सद्गद् गर्न र छानबिन तथा अनुसन्धान अगाडि बढाउन चितवन निकुञ्ज पुग्दथे । रातभरि समन्वयात्मक बैठक र सुरक्षा सुदृढ गर्ने निर्देशन दिएर अर्को दिन १० बजे जंगी अड्डास्थित कार्यालयमा पुगिसकेको हुन्थें । धेरै फिल्ड भ्रमण हामी संयुक्तरुपमा गर्दथ्यौं । यो फिल्ड भिजिटले टिमबिल्डङ्ग टिमवर्क र संरक्षणस्तर उकासेर संधै शून्य सिकार उन्मुख भईरहेको हुन्थ्यो ।
छिमेकी मुलुक भारतमा बाघ संरक्षणमा सारा हिन्दुस्तान एकढिक्का भएर लागिपरेको छ ।
वर्तमान कमजोरी
अनबिज्ञ र ब्यापारी मन्त्रीले पाटे बाघ शिकार गर्नु गराउनु पर्दछ भनेर अमानवीय, अनैतिक र गैरजिम्मेवार सार्बजनिक भाषण गर्दा फिल्डसम्म परेको नकरात्मक असर हो यो उग्र चोरी शिकारी । सचिव र निकुञ्ज बिभागलाई बाइपास गरेर राजनीतिक र आर्थिक स्वार्थ सिद्धिबाट अनबिज्ञले फिल्डमा सोझै खटाएका अनबिज्ञ लोभी पापी ब्यवस्थापकको लाहापर्बाहीले सिभिल चेन् अफ् कमाण्ड ध्वस्त हुँदा यो ध्वस्त परिणाम आएको हो ।
फिल्डको बर्तमान अकल्पनीय बन र बन्यजन्तु क्षतिको लागि सरासर नीति निर्माताको संरक्षण बिरोधी र ब्यापार केन्द्रित निजी स्वार्थ दोषी देखिन्छ ।
दोष नीति निर्मातालाई मात्र थोपरेर पुग्दैन । नीति निर्मातालाई सही मार्ग निर्देशन गर्न, रोक्न छेक्न र नभए परेको बेहोर्न तयार हुन नसक्ने प्रशासक, प्राविधिक, कर्मचारीहरुको निरीहता र अक्षमता पनि उत्तिकै दोषी छ अपूरणीय संरक्षण क्षतिको लागि ।
जीउज्यान र घर परिवार नभनी अहोरात्र फिल्डमा जोखिमपूर्ण जीबन जीउने फिल्ड फ्रण्ट लाईन स्टाफहरुको टिमबिल्डिङ्ग, टिमवर्क र हौसला मनोबल शून्यमा झरेको मूल कारण मुहानका यिनै बिकृति हुन् ।
मन्त्रीको सिधा खटनपटन, नियुक्ति, सरुवा बढुवा र दण्ड पुरस्कार हुने भएपछि फिल्ड कमाण्डरहरुले निकुञ्ज विभाग प्रति किन उत्तरदायी र आज्ञाकारी भईरहनुप-यो ?
बिभागीय अनुगमन नियमन र नियन्त्रण नभएर हो सूचना संजाल, ईण्टेलिजेन्स, सिबिएपियु अपरेशन र पार्क–पिपुल सम्पर्क सम्बन्ध समन्वय र सहकार्य मृत अवस्थामा पुगेको । अथवा, संरक्षणलाई तिलाञ्जली दिएर वार्डेनहरु दलाल बिचौलिया र तस्करहरुको अबैध ब्यापारको गोल चक्करमा फसेको । आर्थिक लाभतर्फ ध्यान केन्द्रित भएको ।
संरक्षण साझेदार संघ–संस्था चरम राजनीतिकरण र कर्मचारीले डो-याएको भ्रष्टिकरणले निस्तेज निश्क्रिय र निरीह हुँदा समुदायस्तरको सचेतना र ईङगेजमेण्टमा ठूलो ग्याप् देखिनु अर्को संरक्षण दुर्भाग्य हो ।
खुद्रा कारण असंख्य छन् ।
यी गम्भीर बिकृतिको नैराश्यता र उदासिनताले फिल्डमा सेना एक्लिएको छ । श्रोत साधन, जनशक्तिको अभाव सेनालाई अर्को चुनौतीको पहाड भइरहेको छ ।
उपचार
नयाँ नीति निर्मातालाई पुरानो बिकृति र यो अपुरणीय क्षतिको यथार्थ ज्ञान दिने पहिलो जिम्मेवारी सचिवको हो । सुरा सुन्दरी बिचौलियालाई आउट् अफ् बाउण्ड (प्रवेश निषेध) गरेर सचिव र उहाँको टिमले नीति निर्मातालाई सही मार्ग निर्देशक बनाउन पापड् पेल्नु पर्दछ ।
यो अपूरणीय क्षतिको नैतिक र भौतिक जिम्मा बन बिभाग तथा डिभिजन बन कार्यालयहरुले पनि अनिवार्य लिनुपर्दछ । र, सुध्रिन जरुरी छ ।
निकुञ्ज बिभागका डिजि बाघका कार्याकारी संरक्षक र अभिभावक भएकोले ईनडोरप्रेम, घरप्रेम, र दलाल–बिचौलिया–ब्यापारीको कालो घेरा तोडेर फिल्ड दौडाहामा निस्किनु पर्दछ । यो संकटको घडिमा बिभाग र मन्त्रालय समन्वयको काम डिडिजि बाट लिने बिकल्प उत्तम हुने छ । गाली र कालो धब्बाबाट बाच्न बचाउन डिजिलाई उत्तम बिकल्प यही हुन सक्दछ । उहाँले पहिला पहिलाको जस्तो नेपाली सेनाका समकक्षी निर्देशकसंग संयुक्त फिल्ड भ्रमण गर्नु दशगुना असरदार हुने छ ।
डिजिमा यो आत्मविश्वास र आँट छैन भने नेपाली सेनाका निकुञ्ज निर्देशकले उहाँलाई काँधमा बोकेर फिल्डमा लैजानुपर्दछ ।
पहिलो असरदार संरक्षण उपचार यही हो ।
पर्सा जस्तै संरक्षणलाई तिलाञ्जली दिएर कमाउधन्दामा लागेका अन्य निकुञ्ज आरक्षहरुलाई निकुञ्ज बिभागले सुध्रिने र संरक्षण मार्गमा लाग्ने अन्तिम चेतावनी दिनुपर्दछ । अन्यथा, सिआईबिले कानूनको खोल ओढेर प्राकृतिक सम्पदा उत्खनन दोहन विनास विक्रि वितरणको मतियार हुने संरक्षण अधिकृतहरु माथि छानबिनको एण्टिना सोझ्याउनु पर्दछ । अहिले सरकारले सरकारलाई धमाधम कार्वाहीको दायरामा ल्याए जस्तै ।
यी देख्नेलाई लाज लाग्ने बिकृतिले नेपाली सेनाको हौसला, मनोवल, सक्रियता, समर्पण र तेज घट्न दिनु हुँदैन । बरु सक्रियता र समर्पण दोब्बर तेब्बर बढाएर काम र जिम्मेवारी खापि दिनुपर्दछ । त्यसकै लागि यो तालिमप्राप्त, सुसंगठित, अनुशासित र जवाफदेही जनताको आस्थाको धरोहरलाई यो मूल्यवान अन्तर्राष्ट्रिय-राष्ट्रिय पूँजीको जिम्मेवारी तोकिएको हो ।
यो संकटमा सेनाको संरक्षण त्याग र समर्पणमा किञ्चित कमी आउन दिनु हुँदैन ।
सेनाले हेक्का राख्न जरुरी छ कि निकुञ्जको जिम्मेवारी क्षेत्र निकुञ्जको अस्पष्ट चार किल्ला र साँधसीमाना होइन । सीमा बाहिर टाढा टाढा सम्म जाने पाटेबाघ, गैंडा, हात्ती लगायतका दुर्लभ बन्यजन्तुलाई आफ्नो निगरानीमा राखिछाड्नु असरदार संरक्षण हो ।
उपसंहार
पहिलो, नीतिगत र नैतिक भ्रष्टाचारले संयुक्त टिमको असल काम गर्ने समग्र सुन्दर वाताबरणमा डढेलो लगाई दिन्छ र टिमवर्क तथा संरक्षण भावना मारिदिन्छ । दुर्भाग्य, अहिलेको अवस्था दुरुस्त यही हो । यो सुधार हुन जरुरी छ ।
दोश्रो, नेपाली सेनाले छाता, अगुवा, गुरु, नेतृत्व र ढाल मानिआएको निकुञ्ज प्रशासन हिजो नैतिकवान ईमान्दार र संरक्षणप्रति पूर्ण समर्पित थियो । तिनै ब्यावशायिक, प्रतिबद्ध र होनहार संरक्षण बिज्ञहरुले नेपाली सेनालाई नङमासु भएर संरक्षण ज्ञान र शिक्षा भर्दै निकुञ्ज डिउटीमा अभ्यस्त गराएका हुन् । कस्तो बिडम्बना, त्यही निकुञ्ज प्रशासनले प्रशिक्षण गरेको नेपाली सेना आज कट्टर संरक्षणकर्मीहरुको धनी छ र मुहानको बिज्ञता नैतिकता त्याग हराउदै गएको छ । खुईलिएको छ र अनबिज्ञ ब्यापारी बिचौलियाहरुले भरिएको छ । छाता संगठनको बिज्ञता नैतिकता र त्याग शीघ्र पुनरप्राप्ति र पुनरभरण हुन जरुरी छ ।
तेश्रो, ईमान्दार सिपाहीलाई गौंडा कुराएर घाँसे दाउरे समाउन लाउने र माथि आफू नीतिगत र अनैतिक भ्रष्टाचार गरेर निकुञ्जको संवेदनशील मुहान जरा नसा बेचिखाने धोका काखमा राखेको बच्चा माथि माताको छुरी प्रहार बराबर हो । यसले नेपाली सेनाको तेजोबध गरेको छ ।
चौथो, हालै मृत्यू भएका पाटेबाघहरुको शीघ्र छानविन र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न टास्कफोर्स बनाउन जरुरी छ ।
ईतिहासमा कुनैदिन पंक्तिकार भद्र जुलुस लिएर एक्लै अख्तियार प्रमुखको ढोकामा गुहार माग्न पुगेको थिएँ र संरक्षणको मर्म र भावना बुझाएको थिएं–
“अहिले चीफ वार्डेनहरुलाई छानबिन र कार्बाही गरेर शून्य सिकारको दियोमा पानी नहालिदिनु होला । संरक्षणको मूल मर्म र भावना माथि चौतर्फी प्रहार भईरहेको वर्तमान उल्टो सोचाई र मच्चाईको कुबेलामा चीफ वार्डेनको कार्वाहीले संरक्षणको बिरुवा मर्ने छ । हरित सुशासनको जिम्मा मेरो र नेपाली सेनाको । निकुञ्जका उजुरी फाईलहरु माथि अहिले तत्काल कार्बाही नहोस् ।”
निकुञ्जहरुले आशीर्बाद पाए । संजीबनी बुट्टी सेवन गरे र त्यसको लगत्तै बिश्वलाई शून्य सिकार गरेर चकित पारिदिए ।
निकुञ्ज ब्यवस्थापनले नेपाली सेनालाई महागुन लगाएका गर्विला नजीरहरुको फेहरिस्त झन् लामो छ । कति सन्तुलित र सुन्दर संयुक्त संरक्षण यात्रा !
अन्त्यमा, संरक्षण क्षेत्रमा तत्काल सुधारको जरुरी छ । हरित सुशासनको सुनिश्चितता संरक्षण सहिदहरु, अग्रज संरक्षणकर्मी र संरक्षणप्रेमी आम जनसमुदायको बुलन्द माग हो । हिजोका पबित्र निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरु भोलि कतै ब्यापारिक केन्द्रको बात र अभियोग लागेर आफ्नै सिआईबि र अख्तियारको तारो नबनून ।
हिजो बाघ दोब्बर बनाएर बिश्वलाई गौरव बाँड्ने मातृभूमि कसरी आज कैदी र मृत् बाघको मुर्दा घर हुन सक्दछ ? ईतिहासकालकै संरक्षणको अपूरणीय क्षति शीघ्र बन्द हुन जरुरी छ र बिश्वलाई हाम्रो नमूना संरक्षणको नजीर पुनः स्थापित गरेर देखाउन अपरिहार्य छ । पाटे बाघ बाधक होईन समृद्धिलाई साधन र बरदान हो ।
बाँच्न देउ भनी प्रार्थना गरिरहेका सुन्दर पाटेबाघहरुको फोटो उपलब्ध गराउने वाइल्डलाइफ फोटोग्राफर एवम् पूर्व प्रमुख सेनानी उत्सवजंग थापाप्रति आभारी छु ।
प्रतिक्रिया