काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार खोटाङका विजय राई, सुलभ राई, भोजपुरका मुकारुङ राई र काठमाडौँका छेङ्वीहाङ राई विरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनीहरु यसअघि नै पक्राउ परिसकेका छन् । यस्तै घटनापछि फरार राजु गुरुङको खोजी भइरहेको र उनीविरुद्ध पनि मुद्दा चल्ने प्रहरीको भनाइ छ ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
घटनामा सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । रोबसको कोखमा चक्कु प्रहार गरिएको छ । पुजनको तिघ्रामा प्रहार गरेर रेस्टुरेन्टमा लामो समय राखेर ओभर ब्लिडिङ्ग गराएको भेटिएको छ ।
पुजन राईलाई सुमेरु अस्पतालमा र रोबसलाई पाटन अस्पतालमा भर्ना गरेपछि प्रहरीले खबर पाएको थियो । राति ११ बजेतिर घटनाबारे खबर पाएपछि अनुसन्धान थालिएको ललितपुर प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया