महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूण हत्याकाे जाहेरी

महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूण हत्याकाे जाहेरी



काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी परेकाे छ । उनीविरुद्ध एक जना युवतीले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी हुन् ।

युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् ।

हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी समेत पठाइसकेको छ । निर्देशन दिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

पीडित युवतीको जाहेरीमा बस्नेतले आफूमाथि काठमाडौंको बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमा समेत पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् । नेता बस्नेत पूर्वउद्योगमन्त्री हुन् ।