बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा

बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको छ । मेयर थापा भरत ताल बनाएर चर्चामा आएका थिए ।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।