हामी नयाँ वर्ष २०८१ सालको प्रवेशमा छौं । शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव, बेइमानी, ठग र लुटेराहरुको शासन, इमान्दार र सक्षम व्यक्तिको बहिर्गमन तथा किनाराकृतको अवस्था, तस्कर, माफिया, डन र ठेकेदारहरुको शासन प्रशासनमा हालीमुहालीले आक्रान्त बनाएको समयबाट कसरी देशको समग्र राज्य प्रणालीलाई माथि उठाउने भन्ने अहम् सवाल सबैको सामू चुनौतिको रुपमा खडा भएको छ । आफूलाई आदर्श मानेका व्यक्तिहरु अनेकौं काण्डमा संलग्न भएको पाउँदा प्रणित भएका मनहरुले धेरै उज्यालोको सम्भावना देखेका छैनन् । आफ्नो घर परिवार छोडेर प्रदेशमा जानुपर्ने अन्तिम विकल्पको तयारीमा किशोरकिशोरीहरु ब्यग्र देखिन्छन् । नेपालमा भविष्य नै छैन त किन बस्ने ? भन्ने अनुत्तरित प्रश्न ‘गोमन सर्प’ जस्तै गरी ठडिएको छ । त्यसको जवाफ दिन उथलपुथल गर्न कहिले कांग्रेसको त कहिले एमालेको तातो तावामा हाम फालेका प्रधानमन्त्री पुष्पकमल दाहालले सक्दैनन् । न ओली न देउवाले नै समाधान खोज्ने इमान्दार प्रयास गरेका छन् ।
देशको सत्ता सञ्चालन गर्ने हैसियतमा भएकाहरुको ठग र तस्करहरुको बचाउमा नै केन्द्रित छन् । मानव तस्करी, सुन तस्करी, जग्गा दलाली, भ्रष्टाचारी, अनियमितताका महारथीहरुको कुनै न कुनै किसिमले खेलोफडको नै गरिरहेका छन् । कुनै किसिमको लाजशरम नै छैन, बद्मासी नै बद्मासीको रेकर्ड बनाएकाहरुलाई खोजी खोजी पटक पटक जिम्मेवारी दिइएको देखिन्छ । सच्चाउनुपर्ने ठाउँमा थप बिगार्ने काम गरिन्छ । त्यस्तै चरित्र र प्रवृत्तिका मानिसलाई अनुकूल मान्ने र ठान्ने नेतृत्व तीनदशकभन्दा बढी समयदेखि सत्तामा विराममान छ । अझै बिस वर्ष आफू नै मुखिया हुने ठोकुवा एमालेका अध्यक्ष ओलीले गरेका छन् । त्यो के का लागि बताउन सक्दैनन । पटक पटक संसद विघटनका लागि ? यति, ओम्नी, ३३ किलो सुन, वाइडबडी, पार्टी विभाजन कहिले, माओवादी, कहिले राप्रपा, कहिले तस्करी, ठगहरुसँग गठबन्धन गरेर देश लुट्नका लागि ? वा जनताले चाहेको कानुनको शासन, रोजगारी, सर्वसुलभ तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तारका लागि ? आम नेपालका छोराछोरीले स्वदेशमा नै रोजगारी कहिले पाउने ? शिक्षा गुणस्तरीय बनाउन कसले पहल गर्नुपर्ने ? स्वास्थ्य सेवा सहज र सुलभ बनाउनका लागि मर्नुपर्ने ? वा कसको सहयोग र अनुदान चाहिने ? के सरकार, गठन र विघटन हुँदा यस्ता ज्वलन्त मुद्दा र समस्याले स्थान पाएको छ ?
राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुसँग तागत छ भने सर्वप्रथम आफ्नो हैसियत, आम्दानी, खर्च र त्यसको श्रोत पुष्टि गरुन । परिवारका मानिसको हैसियत, उठबस, खानपिन र राजशी ठाँटबाठको हिसाबकिताब सार्वजनिक गरुन । होइन भने यिनीहरुको उथलपुथल जनताले नै गर्नेछन् ।
प्रधानमन्त्री दाहालले कांग्रेससँग के असजिलो भएर एमालेसँग लगनगाँठो जोडेका हुन् ? जवाफ दिनु पर्दैन, का मगर्न यहाँ–यहाँ समस्या परेको थियो, जसले गठबन्धन बद्ल्नुप¥यो । सजिलो भएपछि यस्ता यस्ता प्रगति, सुधार र जनपक्षीय काम भएको भन्ने उदाहरण खै त ? प्रश्न उठेपछि त्यसको चित्त बुझ्दो जवाफ नदिइ वा निकास ननिकाली सरकारमा बस्न मिल्छ ? देश छोडेर विदेशी नागरिकता लिएका र सर्वोच्च अदालतले कैफियत देखाएको व्यक्ति सहकारीको रकम हिनामिनामा संलग्न भएको स्पष्ट हुँदाहुँदै पनि किन सरकारमा छन् ? उनले आफ्नो निर्दोशिता पुष्टि गर्नु पर्दैन ? उनी फोहोरमा डुबेका छन् भन्ने त धेरैलाई जानकारी नै छ । सत्ता सञ्चालनको मैदानमा उत्रदा सफल भएर आउनु पर्दैन ? नयाँ भनाउँदाहरुले कम्तीमा ढाट्न पनि कलात्मक त बन्नुपर्ने हो । सबैले देख्ने र बुझ्ने गरी सर्वसाधारणको बचत रकम अपचलन गरेका देशको नागरिकता त्यागी विदेशी भएका व्यक्ति गृह प्रशासनको नेतृत्व गरिरहेका छन् ? योभन्दा राष्ट्रिय लज्जाको विषय के हुन्छ ?
देशप्रति इमान्दार नहुने व्यक्ति कसरी संवेदनशील मन्त्रालयको जिम्मेवारी (नेतृत्व) गर्न सक्छ ? उसले राष्ट्रिय गोपनीयता राख्छ ? देशको थोरै माया हुने व्यक्तिले राष्ट्रियता त्याग्छ ? एकपटक राष्ट्रियता त्यागेको व्यक्तिलाई देशको संवेदनशील ठाउँमा जिम्मेवारी दिइँदैन । यो एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय मान्यता र प्रचलन हो । देश नै त्यागेका व्यक्तिहरुलाई कुन सिद्धान्त र मान्यताका आधारमा ओली–दाहालले गृह प्रशासनको साँचो सुम्पिएका हुन् ? यो इमान्दारिता हो ? सत्ता प्राप्तिका लागि जुनसुकै बेइमानी पनि स्वीकार्य मान्ने र ठान्ने ओली–दाहाललाई कुनै वैचारिक धरातलमा उभिएर राष्ट्रवादी र इमान्दार मान्न सकिन्छ ? यस्ता बेइमानहरुको चँगुलमा फसकेको देशमा आफ्नो भविष्य अन्धकार देख्नु नवजवानहरुको स्वभाविक क्रिया होइन ? देशभित्रै आशा र सम्भावना देखाउन नसक्नु असफलता होइन ? आशा, विश्वास र भरोसा जगाउन नसक्ने नेतृत्वले सत्तामा बसेर राष्ट्रको ढुकुटी सञ्चालन गर्नु सफेद भ्रष्टाचार हो ।
देशभित्र चालू रहेका र विश्वसनीयता बनाएका संस्थाहरु कमजोर निकम्मा बनाउने काम यही नेतृत्वबाट भएको हो । चरम राजनीतिकरणको मारमा देशको शिक्षा क्षेत्र परेको छ । स्वास्थ्य क्षेत्रलाई बिगार्ने काम पनि यिनीहरुबाटै भएको हो । आफ्ना छोराछोरीलाई कि विदेश पठाउने कि तस्करीमा संलग्न गराउने काम यिनीहरुबाटै भएको छ । औषधोपचारको लागि आफू राष्ट्रिय ढुकुटी दुरुपयोग गरेर विदेशमा जाने, देशका संस्था जर्जर बनाउने काम यही नेतृत्वले गरेको हो । कहिले यता, कहिले उता गरेर अस्थिरता र बेइमानीको परिचय आफै बनाउने राजनीतिक नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म नै डुबेको छ । अनि कहाँबाट सकारात्मक भाष्य आउँछ दाहालजी ?
राजनीतिक नेतृत्व र यसको आसेपासेहरुको साझेदारी दलाल, तस्कर र माफियासँग छ भन्ने पटक पटकका घटनाक्रमबाट पुष्टि भएको छ । पुष्टि नभएका विषय, घटना र सन्दर्भमा दलाल, तस्कर र माफियाका सरदारहरुले नै प्रमाणित गरेका छन् । प्रत्येक योजना, आयोजना, कार्यक्रम व्यवसाय, धन्दा पानीमा राजनीतिक नेतृत्व र यसको घर परिवारका समस्याहरुको संलग्नता, लगानी र सक्रियता पुष्टि हुन्छ । राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुसँग तागत छ भने सर्वप्रथम आफ्नो हैसियत, आम्दानी, खर्च र त्यसको श्रोत पुष्टि गरुन । परिवारका मानिसको हैसियत, उठबस, खानपिन र राजशी ठाँटबाठको हिसाबकिताब सार्वजनिक गरुन । होइन भने यिनीहरुको उथलपुथल जनताले नै गर्नेछन् । नयाँ वर्ष २०८१ को सबैमा शुभकामना ।
प्रतिक्रिया