देवी न्यौपानेलाई सम्झदाको पृष्ठभूमि

देवी न्यौपानेलाई सम्झदाको पृष्ठभूमि



जीवन संयोग नै होला, हामी यस्तो संयोगमा जन्मियौं कि परिस्थिति, परिवेश र वातावरण परिवर्तनउन्मुख थियो । २००८ सालतिर परिवर्तनको ज्वारभाटासहित भारतको दार्जिलिङबाट आफ्नो थातथलो फर्किएका भीमबहादुर तामाङको आधुनिक ज्ञानले हाम्रो गाउँ समाजका अगुवालाई आकर्षित गरेको रहेछ । हाम्रो परिवारका सदस्यहरु समेत भीमबहादुर तामाङसँग भाषा, शैली, शिक्षादीक्षा, देशदेशान्तर, आधुनिकताका बारेमा जान्न उत्सुक भएर तामाङलाई गुरु स्वीकार गरी अंग्रेजी शिक्षाको ज्ञान हासिल गर्न तयार हुनुभएछ । जसले तामाङलाई विद्यालयको स्वरुप दिन बाध्य बनाएछ । समयक्रमले मास्टर भीमबहादुर बनाएपछि त्यहाँको परिवेश र परिस्थिति तामाङको वैचारिकतर्फ क्रमशः उन्मुख भएको देखिन्छ ।

२०१५ सालको आम निर्वाचन, बीपी कोइराला नेतृत्वको सरकार, सरकारको अपधस्तता, त्यसविरुद्धको आवाज, क्रान्ति आन्दोलन आदि इत्यादिको प्रभावमा समाजमा परेको रहेछ । जेलनेल प्रवास, संघर्षले परिवर्तनप्रतिको अठोट र संकल्पलाई स्थापित नै गरेकोले होला त्यसबाट समाजका सबै क्षेत्रका मानिस कुनै न कुनै किसिमले प्रभावित भएको देखिन्छ । त्यसकै परिणाम स्वरुप परिवर्तनको अग्रणी दल नेपाली कांग्रेसको नेतृत्व तहमा मास्टर भीमबहादुरको प्रवेश र उहाँको समाजप्रतिको अवधारणाबाट समाज निर्देशित भएको पाइन्छ । चेतना, चिन्तन र राजनीतिप्रतिको आकर्षणबाट हाम्रो समाज र परिवार पनि अलग रहेन । कुनै न कुनै किसिमले आन्दोलनको मोर्चामा सहभागिता जनाउने र त्यसको नेतृत्व भीमबहादुर तामाङले गर्ने परिस्थितिले हाम्रो सम्बन्धलाई निकट परिवारिक र प्रगाढ बनाउँदै लगेको घटनाक्रमहरुलाई नियाल्दा ठम्याउन सकिन्छ । अध्ययनको क्रममा काठमाडौं तथा जनकपुर जाने क्रममा सम्पर्क र सम्बन्ध परिवर्तनकारीहरुसँग बढ्दै जाँदा दोलखाको जफे संगठित रुपमा अगाडि बढ्ने अवस्थामा पुगिसकेको थियो । त्यसलाई संगठनात्मक स्वरुप दिन २०३६ सालमा घोषणा भएको जनमत संग्रहले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

जनमत संग्रहसम्म आइपुग्दा त्यही माटोबाट उठेका भीमबहादुर तामाङ, देवी न्यौपानेहरुले जेलनेल र प्रवासको अनुभव हासिल गरिसक्नु भएको थियो । दोलखाको केन्द्रविन्दू त्यसबखत जफे नै बनेको थियो । आन्दोलन बुझेका र त्यसलाई हाक्नसक्ने क्षमता भभएका व्यक्तिहरु विद्यार्थी राजनीतिमा समेत सक्रिय सहभागिता देखाइ नेतृत्व तहमा बसेर काम गरेकाहरु थिए । हामी त्यही परिवेशबाट प्रशिक्षित हुँदै अगाडि बढ्ने अवस्थामा जन्मिएका थियौं । त्यस अर्थमा जीवनलाई संयोग मानिएको हो ।

आन्दोलन, जेलनेल र प्रवासले देखाएको बाटोमा न नेपाली कांग्रेस हिड्न सक्यो न त नेपालको राजनीति ? जस्तो परिकल्पनाका साथ हामीलाई होमिएको थियो, त्यो उहाँहरुले त अनुभूति गर्न पाउनु भएन हामीले त प्रश्चाताप गर्नुपर्ने दिन आउँछ कि जस्तो देखिन्छ ।

एउटा विश्वास थियो कि परिवर्तनले समग्र सामाजिक अवस्थामा फेरबदल र परिमार्जन ल्याउँछ । लोकतान्त्रिक संस्कार, चरित्र र व्यवहारको प्रतिफल सिंगो राष्ट्रले प्राप्त गर्नेछ । संसारका सभ्य र विकसित मुलुकका नागरिकले प्राप्त गरेको सेवा, सुविधा, शिक्षा र सुशासनको प्रत्याभूति नेपालीहरुले प्राप्त गर्नेछन् । हाम्रो देशको मौलिकतासहितको पहिचान र परिचय बनाउन हामी र हाम्रो नेतृत्व सफल हुनेछ । त्यहाँ नै सन्तोष, खुशी र सफलताको कथा लेखिनेछ । विभेद, अन्याय, शोषण र भ्रष्टाचारको अन्त्य हुनेछ, कानुनको शासन चल्नेछ । सबै समान हुनेछन्, गुणस्तरीय शिक्षा र स्वास्थ्य आम नागरिकको पहुँचमा हुनेछ, रोजगारी देशभित्रै पाइनेछ । आमाको काख छोडेर पराइको मुलुकमा ‘लाहुरे’ बन्न जानुपर्ने छैन । ज्ञान, सिप र प्रविधिले हामीलाई समुन्नत राष्ट्रमा स्तरोन्नति गर्नेछ भन्ने विश्वासका साथ हामीहरु पनि परिवर्तनको बाटोमा अग्रसर भएका थियौं ।

अहिले फर्केर हेर्दा त्यस्तो लाग्दैन, देखिँदैन । स्वर्गीय भीमबहादुर तामाङले राम्रो परिचय बनाएर हामीलाई गौरवन्वित बनाउनु भएको छ । उहाँले पनि खासै भूमिका प्राप्त गर्न सक्नु भएन । क्षमता र इमान्दारिताको दृष्टिकोणले निर्णायक तहमा जानुपर्ने थियो, त्यस्तो भएन । अर्को इमान्दार नेता जसले हामीलाई राजनीतिको कखरा सिकाउनु भयो, देवीप्रसाद न्यौपाने उहाँले त निर्वाचन लड्ने इच्छा पनि पूरा गर्न पाउनु भएन । आन्दोलन, जेलनेल र प्रवासले देखाएको बाटोमा न नेपाली कांग्रेस हिड्न सक्यो न त नेपालको राजनीति ? जस्तो परिकल्पनाका साथ हामीलाई होमिएको थियो, त्यो उहाँहरुले त अनुभूति गर्न पाउनु भएन हामीले त प्रश्चाताप गर्नुपर्ने दिन आउँछ कि जस्तो देखिन्छ ।

सामान्य कृषकको घरमा जन्मिएर सिंगो समाज परिवर्तन गर्न राज्यसत्तासँग लडेका जेलनेल बसेका, प्रवासमा जान बाध्य भएका देवी न्यौपानेहरु प्रति न्याय गर्न नसक्ने नेतृत्व, प्रणाली, चरित्र र व्यवहारले बाँकी समाजको अपेक्षा, चाहना र उद्देश्य हासिल गर्न न्याय गर्ला भन्ने संकेत आजको प्रस्तुतिले दिँदैन । मैले जानेदेखि नै इमान्दारिताको लडाइमा तामाङ र न्यौपानेहरुले हारेको देखेको छु । अर्को शक्ति र प्रवृत्तिले निरन्तर विजय प्राप्त गर्दै गरेको छ । गलत तत्व र प्रविधिलाई पुरस्कृत र प्रोत्साहित गर्ने काम नेतृत्वले गर्दै आएको छ । तस्कर, माफिया, डन, ठेकेदार, विचौलिया, दलाल, ठगहरु निर्णायक तहमा देखिएका छन् । आन्दोलनको उद्देश्य, लक्ष्य र भावनाको प्रतिनिधित्व गर्ने न्यौपानेहरुले आफूले केही प्राप्त गर्न नसके पनि शासन प्रणाली राम्रैसँग चलिरहेको छ, हिजो हामीसँग जेलनेल, प्रवास बसेका योग्य र सक्षमहरुले नै अवसर पाएका छन् भनेर सन्तोष गर्ने ठाउँसम्म बनाइएन ।

लुटेराहरुले लुटेको टुलुटुलु हेरेर असन्तोष, आक्रोस र असफलता महसुस गरेर अन्तिम श्वास लिनुप¥यो । देवी न्यौपानेले भन्नुभएको थियो, हामीहरुले त जसोतसो जीवन काट्यौं, तिमीहरुलाई झन कठिन हुनेछ । समकालीननेतृत्वलाई संकेत गर्दै भन्नुहुन्थ्यो, यिनीहरु सबै डन, माफिया, ठेकेदार, विचौलिया र ठगहरुकै कब्जामा र उनीहरुकै स्वार्थ परिपूर्तिमा केन्द्रित छन् । राजनीतिक धर्म राखेनन्, इमान्दार साथीहरुलाई क्रमशः पाखा लगाउँदै गए । आन्दोलनको सहकर्मी र सहयात्रीभन्दा व्यापारी, ठेकेदार र ठगहरु प्रिय बन्दै गए । जसले आन्दोलनको लक्ष्य, उद्देश्य र गन्तव्य पछ्याउँनै सकेन । आत्मकेन्द्रित, स्वार्थी र सत्तामुखी चरित्रले सिंगो शासन प्रणाली र लोकतान्त्रिक आर्दशलाई धुलिसात बनायो ।

सामान्य लोकतान्त्रिक संस्कार र संस्कृति पनि कहिकतै बाँकी राखेनन् । ठूला दल बाहिर दुई चार सिट ल्याउनेहरु सत्ताको स्वादमा देखिन्छन् । उनीहरुमा आन्दोलन, व्यवस्था, सिद्धान्त र आदर्शप्रति कुनै सरोकार नै छैन । जीवनभर लोकतान्त्रिक लडाइँमा समर्पितहरुले अपमानित भएर मृत्युवरण गर्नुपर्ने अवस्थामा सुधार आउने सम्भावना कहिकतै देखिँदैन । आन्दोलनमा सहभागी हुने र गराउने इमान्दार तर अवसर नपाएका देवी न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली ।