सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ । उच्च अदालत पाटनका न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) को जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।