धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप

धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप



जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएको प्रहरी बताएकाे छ । स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका थिए ।

१० दिनअघि दुई युवती अपहरणमा परे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको छ ।

स्थानीयले प्रहरीले युवतीहरूको खोजी नगरेको भन्दै बिहीबार बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ ।