आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ



विराटनगर । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन् ।

उनले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन् ।

घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फ्यालेको प्रहरीले जनाएको छ । बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको थियो ।

शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए । सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।