भारतका प्रधानन्यायाधीश काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

भारतका प्रधानन्यायाधीश काठमाडौंमा, यस्तो छ भ्रमण तालिका



काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन् । 

उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन् ।

शुक्रबार दिउँसो काठमाडौं आइपुगेका चन्द्रचुडको टोलीलाई स्वागत गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

चन्द्रचुड शनिबार काठमाडौंमा आयोजना हुने न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ। केन्द्रीय बाल न्याय समन्वय समितिले आयोजना गर्ने सो कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

नेपाल बसाइँका क्रममा उनले प्रधानन्यायाधीश श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, प्रधानन्यायाधीश श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा समेत सामेल हुने छन् । उनी आइतबार साँझ स्वदेश फर्किने कार्यतालिका छ ।